सभामुख सापकोटाले अब के गर्लान ? - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

सभामुख सापकोटाले अब के गर्लान ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि सबैको नजर सर्वोच्च अदालत र संसदका सभामुखमा परेको छ ।

यस्तो अवस्थामा सभामुख अग्निप्रसाद सापकोटाले के गर्लान, उनले गर्नसक्ने के होला वा उनीबाट केहि पार लाग्ला कि भन्ने आशा सर्वसाधारणले लिएका छन् ।

केहिदिन अगाडी संविधानमा संसद विघटन गर्नसक्ने कुनै प्रावधान नभएको भन्दै विज्ञप्ति जारी गरेका सभामुख सापकोटाले अहिले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद बिघटन गर्ने अधिकार नभएको प्रष्ट पार्दै आफूले अदालात्लाई बताउने तयारी गरेको बताएका छन् ।

उनले सार्वजनिक रुपमै संसद विघटनबारे प्रधानमन्त्रीलाई यसको अधिकार संविधानले नदिएको बताएसँगै अब सभामुखले कस्तो कदम चाल्लान् ? यो गम्भीर प्रश्न बनेको छ ।

सभामुख सापकोटा नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्डका अति निकटस्थ हुन् । प्रचण्डकै अडानले उनी सभामुख भएका थिए । नत्र प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई अघि सारेका थिए ।

सापकोटाले संवैधानिक परिषदको बैठकमा समेत अनुपस्थिति जनाए । उनको यो भूमिकाको कारण प्रचण्ड पनि थिए ।

यतिबेला सभामुख सापकोटाले कस्तो कदम चाल्ने हुन् ? प्रतिक्षाको विषय बनेको छ । उनी विभिन्न पक्ष र जानकारहरुसँग यसबारे परामर्श गरिरहेका छन् । बिहिबार विभिन्न महिला संघ संगठनको प्रतिनिधिलाई भेटे । अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिलालगायतले सापकोटालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

सभामुखले भने अदालतको फैसला कुरेको बुझिएको छ । अदालतले संसद बिघटनविरुद्ध परेको रिटमा गठित संवैधानिक इजलासले मुद्दाको किनारा लगाएपछि सभामुखले कदम चाल्ने तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

सभामुखले विगतमा अदालत बाहिरबाट आनदोलनको बलले संसद पुनःस्थापना भएको नजिरबारे समेत परामर्श गरिरहेको बुझिएको छ । २०६२/६३ को जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो । यही इतिहासलाई आधार बनाएर ओलीविरोधी नेकपाको अर्को समूह आन्दोलनमा छ । उक्त समूहको प्रमुख माग नै संसद पुनःस्थापना रहेको छ । त्यतिबेला पनि सभामुखको भूमिका महत्वपूर्ण हुन्छ ।