टोपबहादुरको ‘इन्ट्री’: लोडसेडिङको ‘प्राक्टिस’
काठमाण्डौ- पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा अघोषित लोडसेडिङ हुन थालेको छ । कुलमान घिसिङ आएको केहि महिनामै हटेको लोडसेडिङ कुलमान गएको केहि महिनामै सुरू भएको गुनासो सर्वसाधारणले गर्न थालेका छन् ।
अवस्था कस्तो छ भने उर्जा मन्त्रालयमा नयाँ मन्त्रीले पाइला टेकेपछि लोडसेडिङको पुरानै झल्को आउन थालेको गुनासो बढेको हो । उर्जामन्त्रीको दोस्रो कार्यकालका लागि नेकपाका नेता टोपबहादुर रायमाझी आएका छन् । तर, संयोग नै यस्तो बनेको छ कि उनी आएदेखी नै लोडसेडिङ भान पार्नेगरी विजुली जान थालेको छ ।
कुलमान घिसिङ बाहिरीएदेखि नै संशय पालेर बसेका सर्वसाधारणले लोडसेडिङकै शैलीमा विद्युत जान थालेपछि यतिबेला फेरी १८ घण्टे लोडसेडिङकाल र टोपबहादुरको कार्यकालको झल्को आएको महसुस गर्न थालेका छन् ।
अहिले उर्जामन्त्रीको रूपमा आएका टोपबहादुर यसअघिको केपी ओली नेतृत्वकै सरकारमा उपप्रधान सहित उर्जामन्त्री थिए । २०७२ सालमा उनी उर्जामन्त्री रहँदा देशमा १८ घण्टा नै लोडसेडिङ हुने गरेको थियो ।
सबैभन्दा बढी समय लोडसेडिङ गराएको आरोप खेपेका टोपबहादुरले फेरी उर्जा मन्त्रालय छिर्ने बित्तिकै हुन थालेको लोडसेडिङलाई जोडेर हेर्न थालेका छन् ।
२०७२ मा ओली सरकार ढलेपछि नियुक्त भएका तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरे । घिसिङको कुशल व्यवस्थापनकै कारण केहि महिनामै लोडसेडिङ गायव भयो ।
देशलाई लोडसेडिङमुक्त बनाएका घिसिङको कार्यकाल सकिदै गर्दा नागरिकले उनको पुनः नियुक्तिको माग गरे । तर सरकारले कानुनी अवरोध देखाएर घिसिङलाई विदा गर्यो । त्यसबेला नै सर्वसाधारणले अब फेरी मुलुकमा लोडसेडिङ हुने हो कि भन्ने चिन्ता गरेका थिए । अहिले त्यही चिन्ता व्यवहारमा देखिन थालेको छ ।
लामो समय लोडसेडिङको मार खेपेका नागरिकले कुलमानको अभाव र उर्जामन्त्री परिवर्तन भएकै दिनदेखि नेपालमा फेरी बत्ति जान थालेपछि फेरी लोडसेडिङ हुने त्रास पालेका छन् ।
तर प्राधिकरणले विभिन्न प्राविधिक समस्या देखाएर पन्छिन खोजेको छ । प्राधिकरणले प्राविधिक कारण तथा मर्मत संम्भार गर्दाको समयमा मात्रै लोडसेडिङ हुने गरेको दावी समेत गरेको छ ।