ओलीको व्यंग्य: मर्ने बेलामा कमिलाको पखेटा पलाउँछ
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले काल आएको बेला कमिलालाई पखेटा पलाउने गरेको बताएका छन् । उनले प्रचण्ड-नेपाल समयह सकिने लागेको भन्दै व्यंग्य गरेका थिए ।
केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन् ।
उनले प्रचण्डलाई युद्धकालमा साथ दिएका योद्धाहरूलाई वास्ता नगरेको बताएका छन् । उनले जनतालाई युद्ध लडाएर प्रचण्डले अहिले बेवास्ता गरेको आरोप लगाएका हुन् ।
‘युद्धका लडेकाहरुको शरीरमा गोली अझै छन् । प्रचण्डलाई उनीहरुको पीडा के थाहा ।’ ओलीले भने । ओलीले कालीबहादुर खामहरु कता गए भन्दै प्रश्न गरेका छन् ।
उनले लोकेन्द्र विष्टको मन समेत प्रचण्डले भाँचेको बताए । ओलीले भने,“प्रचण्डले लोकेन्द्रको मन भाँचे । नत्र उनले किन कालो धान, ड्रागन फुड किन रोप्थे । युद्धका लडेकाहरुको शरीरमा गोली अझै छन् । प्रचण्डलाई उनीहरुको पीडा के थाहा ।”
प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाएको आरोप समेत ओलीले लगाएका छन्।
‘प्रचण्डले कांग्रेसँग मिलेर पनि छोरी जिताउन गाह्रो थियो। छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्नुभएको थियो,’ उनले भने, ‘हामी मिलौँ। हाम्रा संविधानको सर्वोच्चताका नीति, कार्यदिशा एकै भएपछि अलग्गै बस्नुको अर्थ छैन भनेर मैले उहाँसँग प्रस्ताव राखेको थिएँ। हामी मिल्यौँ।’ तर यो एकता लामो समयसम्म नटिक्नुको कारण भने प्रचण्ड नै भएको उनको आरोप थियो।
सदुरपश्चिमबाट ४ जना मन्त्री बनाएर आफूले निकै अग्रगामी कदम उठाउएको समेत उनको भनाइ थियो।
समयको डुंगा र अग्रगमनको डुंगा अघि बढेको तर प्रचण्ड-नेपाल पक्ष भने पश्चगमनतर्फ अघि बढेको नेता ओलीको भनाइ थियो। ‘उहाँहरू अघि बढ्न चाहनुभएन। गणतन्त्र र संविधानप्रतिको दृष्टिकोण सडकमा छर्नुभएको छ,’ उनको भनाइ छ। प्रचण्डसँग गरिएका सम्झौताले आफ्नो ब्रिफकेस नै भरिएको समेत उनले बताए। कार्यक्रममा उनले नेपालमा कम्युनिस्ट पार्टीको संक्षिप्त विकासक्रम समेत प्रस्तुत गरेका थिए।
यसअघि बोलेका नेता लेखराज भट्टले जनयुद्धमा ज्यान गुमाएका १२ हजारको जिम्मा कसले लिने भन्दै पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित प्रश्न गरेका थिए। प्रचण्डले टुँडिखेलमा पुगेर जनयुद्धमा मारिकएका ५ हजार जनाको जिम्मा लिने बताएको तर बाँकी १२ हजारको जिम्मा चाहिँ कसले लिने भन्दै नेता भट्टले यस्तो प्रश्न उठाएका हुन्।
‘हामी युद्ध (प्रचण्डको नेतृत्वमा जनयुद्ध) लड्यौंँ। युद्धको बेलामा सत्तापक्ष र हाम्रो पक्ष दुवैतर्फबाट नागरिकले ज्यान गुमाए। तर उहाँ (प्रचण्ड) टुँडिखेलमा गएर ५ हजारको जिम्मा चाहिँ म लिन्छु भन्नुहुन्छ। बाँकीको जिम्मा चाहीँ कसले लिन्छ? जनयुद्ध गर्ने हामी, अनि बाँकीको जिम्मा कसले लिनुपर्ने,’ उनको प्रश्न छ।
बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई सम्बोधन गर्दै नेता भट्टले यस्तो प्रश्न उठाएका हुन्।
भट्टले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा मात्र नभएर दर्शन भएकोसमेत उल्लेख गरेका छन्। केपी शर्मा ओलीले बारम्बार समृद्ध नेपाल सुखी नेपाली भन्दै आएका भएपनि त्यो पूरा नभएको भन्दै आलोचना भइरहेको समयमा पूर्वमाओवादी खेमाबाट ओली पक्षमा पुगेका नेता भट्टले ओलीको बचाउ गरेका हुन्।
केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टीका नेता लेखराज भट्टले अर्का पक्षका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अस्थिरता सिर्जना गरेको आरोप पनि लगाए।
केही दिनअघि आन्दोलनका कार्यक्रमसहित माइतीघरस्थित सडकमा प्रचण्ड र माधवकुमारलगायतका नेताहरू पुगेर ‘हामी यहाँ छौं’ लेखिएका पर्चा बोकेर पुगेको विषयलाई व्यंग्य गर्दै उनले अर्को पक्ष कहाँ छ भनेर खोज्नुपर्नेअवस्था आएको बताएको छ। त्यही कारण प्रचण्डमाधव पक्षका नेताहरूले हामी यहाँ छौँ भन्नुपरेको उनको दाबी थियो।
प्रचण्डले नै अस्थिरता निम्त्याएकाले उनी आफै सडकमा पुगेको नेता भट्टको दाबी थियो। प्रचण्डले प्रलय ल्याउने भन्दै आएकाले हाल आएर उनले त्यो प्रमाणित गरेको उनको भनाइ थियो।