प्रधानमन्त्रीले नेताहरुको फोन ट्यापिङ गरिरहेको पुनको खुलासा - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रधानमन्त्रीले नेताहरुको फोन ट्यापिङ गरिरहेको पुनको खुलासा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको टेलिफोन ‘ट्यापिङ’ गरिरहेको खुलासा भएको छ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले गैरकानूनी रुपमा प्रधानमन्त्री केपी ओलीले राजनीतिक दलका नेताहरुको टेलिफोन ‘ट्यापिङ’ गरिरहेको खुलासा गरेका हुन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षद्वारा मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा पुनले भने, ‘सबै नेताहरुका टेलिफोन ट्यापिङ भइरहेको छ। नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन।’

उनले थपे, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरिएको छ, हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको देशमा यो स्वीकार्य हुन सक्दैन।’

उनले प्रधानमन्त्रीका कारण व्यवसायी समेत आतंकित बनेको पनि बताए। सरकार बन्दै गर्दा सहयात्री दलको जिम्मामा परेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई नियतवश आफू मातहत राखेर प्रधानमन्त्रीले सुरुमै सबै चिज आफूमा केन्द्रीत गर्ने संकेत देखाएको पनि उनले बताए।

पूर्वऊर्जामन्त्रीसमेत रहेका पुनले संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै दलभित्र असहयोग भएको बहानामा जनताको मतको अपमान गर्ने छुट संविधानले प्रधानमन्त्रीलाई नदिएको बताए।

उनले अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिसहरुले प्रधानमन्त्री भेटेर फर्किएको र पूर्वराजासँग साँठगाँठको हल्ला चलिरहेका बेला संसद विघटन हुनुलाई गम्भीर रुपमा लिएको बताए।