प्रचण्ड-नेपालसँग सरकारमा काँग्रेसले सहकार्य गर्छ: नेता खाँण
बुटवल- प्रचण्ड-नेपाल समूहसँग सहकार्य गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले खुलासा गरेका छन् ।
प्रेस युनिय रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले भने, ‘संसद विघटनलाई असंवैधानिक भन्ने पक्षसँग नै हाम्रो सहकार्य हुन्छ ।’
खाँणले संसद पुनस्र्थापना भएपछि ओली पक्षसँगभन्दा पुस्पकमल प्रचण्ड-नेपाल पक्षसँग सरकारमा सहकार्य गर्न सकिने बताएका हुन् ।
सम्मेलनमा खाँणले प्रधानमन्त्री ओली सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेकाले चुनाव नगराउने दाबी गरे । ‘वैशाखमा चुनाव गर्ने प्रधानमन्त्रीको मानसिकता छैन,’ खाँणले भने, ‘चुनाव बहानामात्र हो, सर्वसत्तावाद र अधिनायकवाद लाद्न नपाएपछि प्रतिनिधि सभा विघटन गर्नेले किन चुनाव गराउँछन् ?’
प्रधानमन्त्री ओलीले कारोना वा अन्य कुनै कारण देखाएर संकटकाल लगाउन सक्ने खाँणले औंल्याए । प्रधानमन्त्री भएदेखि नै ओलीमा एकाधिकारवादी र निरंकुश ब्यवहार देखिएको भन्दै खाँणले प्रेस, मानव अधिकार, राष्ट्रिय सुरक्षा, व्यक्तिगत गोपनीयतालगायतका विषयमा अंकुश र नियन्त्रण गर्ने गरी विभिन्न विधेयक ल्याउनुको पछाडि प्रधानमन्त्री ओलीको अधिनायकवादी चिन्तनले काम गरेको खाँणले प्रष्ट पारे ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक प्रस्तावलाई राष्ट्रपतिले विचारै नगरी स्वीकृत गर्नु विवादास्पद र अराजनीतिक काम भएको खांणले टिप्पणी गरे । ‘प्रधानमन्त्री ओली आफै संविधान तोडफोड गर्दै अस्थिरता निम्त्याउनु दुर्भाग्यपूर्ण हो,’ खाँणले भने ।
औषधि खरिदलगायतका काममा भएको भ्रष्टाचारको विषयको संसदमा उठ्ने र त्यसको जवाफ दिन नसक्ने अवस्था देखेर प्रधानमन्त्रीले संसद अधिवेशन पनि एकतर्फीरुपमा अन्त्य गरेको खांणले स्मरण गरे । ‘सरकारले गरेका ठूला-ठूला भ्रष्टाचार लुकाउन संसद नखुल्दै विघटन गरियो,’ खाँणले भने ।
प्रतिनिधि सभा विघटन गरिएको विष्यामा अदालतमा मुद्दा परेकाले अदालतलाई प्रभाव नपरोस् भनेर कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले पुनस्र्थापना हुने विश्वास व्यक्त गरे ।