कलंकको टिका लगाएर ओलीले आफ्नै इतिहास धमिलो पारे: प्रचण्ड
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कलंकको टिका लगाएर आफूहरूलाई हिरो बनाएको बताएका छन् ।
जनसांस्कृतिक महासंघ नेपालको भेलामा बोल्दै प्रचण्डले तीन करोड नेपालीको सार्वभौमिकता माथि केपी ओलीले जो प्रहार गरेका छन् त्यस विरुद्ध लाग्नुपर्ने समेत बताएका थिए ।
कार्यक्रममा प्रचण्डले ओलीकै सहमतिमा प्रतिनिधिसभाबाट सरकार गठन हुने विकल्प हुँदा हुँदै प्रतिनिधिसभा विघटन हुन नसक्ने प्रावधान संविधानमा राखिएको बताए।
कार्यक्रममा प्रचण्डले अहिले ओलीले आफूहरुले नै बनाएको संविधानको विरुद्धमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।
उनले सदन विघटन नभएको समेत दाबी गरे। ‘सदन विघटन भएको छैन। विघटन भएको भनेको केपी ओलीको सरकार हो। उसले जसरी प्रतिनिधिसभाको हत्या भयो भनेको छ त्यस्तो होइन प्रतिनिधिसभा जीवित छ,’ उनले भने।
उनले संविधानलाई व्याख्या गर्ने अदालतले भएको भन्दै अदालतले छिट्टो भन्दा छिट्टो संसदको बैठक सुचारु गर्न आदेश दिने विश्वास व्यक्त गरे।
उनले पार्टी भित्र अन्तरसंघर्ष लामो समय देखि चलेको बताए। ‘सही र गलतको बीचमा अन्तरसंघर्ष चलेकै हो। पार्टी एकताको विधान र राजनीतिक प्रतिवेदन अनुसार चल्नुपर्छ भन्ने र व्यक्तिवादी ढंगले चल्न पाउनुपर्छ भन्ने बीचको,’ उनले भने।
केपी ओली इतिहासमा कलंकित भएको प्रचण्डको आरोप थियो। ‘केपी ओली पराजित हुनुभयो इतिहासमा उहाँ कलंकित हुनुभयो। कलंकको टीका लगाउनुभयो। हामी विजय भयौँ,’ उनले भने।
प्रचण्ड र माधव नेपाल सडकमा पलेँटी कसेर बाटोमा जाँदा ल यिनिहरु सडकमा पुगे भनेर हाँसो उडाएको भन्दै उनले भने, ‘हामी सडकमा पुगेको होइन्। हामी जनतामा गएका हौँ। केपी ओली श्री ३ महाराज जस्तो जंगेको बाटोमा हिँड्नुभयो। आफू इतिहासमा कलंकको टीका लगायो। तर हामीलाई जनताको बीचमा जाने वातावरण मिलाइदियो। जनताको हिरो बन्ने बाटो मिलाइदियो।’
उनले अहिले पूर्व माओवादीका नेताहरु ओली पक्षमा लागेको प्रति व्यंग्य गर्दै वैशाख पछि फर्किएर आउनेसमेत बताए। ‘केही साथी उता गए भनेर चिन्ता लिनुपर्दैन्। हिजो पनि यस्तो हुन्छ। तर उनीहरु फर्किन्छन्,’ उनले अगाडि भने, ‘हेर्नुहोला बैशाख पछि उनीहरु फर्किन्छन्। अन्त जाने ठाउँ हुन्न। अनी हामी अलि फराकिलो दिल भएका माफी दिइहाल्छौँ। स्वागत गरिहाल्छौँ।’