गुरुङको खुलासा: विदेशी सैनिक भित्राएर चीन घेर्ने ओलीको प्लान - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

गुरुङको खुलासा: विदेशी सैनिक भित्राएर चीन घेर्ने ओलीको प्लान



कास्की- नेकपा स्थायी कमिटी सदस्य देव गुरुङले नेपाली विदेशी सैनिक प्रवेश गराउन ओली सरकारले संसद विघटन गरेको आरोप लगाएका छन् । संसद रहेसम्म विदेशी सेना प्रवेश गराउन सम्भव नभएपछि संसद नै विघटन गरिदिएको उनको तर्क छ ।

नेकपाको प्रचण्ड-नेपाल पक्षले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गुरुङले भने, ‘चीनलाई घेराबन्दी गर्न नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसहित संसद् विघटन गरिएको हो । त्यसैले, संसद विघटनको कदम राष्ट्रघाती छ ।’

उनले अगाडि भने, ‘यो संसद रहँदासम्म, संघीय संसद रहँदासम्म विदेशी सैनिकहरुले यहाँ मार्चपास गर्न सक्दैन, विदेशी सैनिक प्रवेश गर्न सक्दैन, हस्तक्षेप गर्न सक्दैन र यो संसदले रोक्ने छ, त्यसकारण विदेशी सैनिक प्रवेश गराउन यो संसद भंग गराउन अनिवार्य छ । यही काम ओली सरकारले गर्‍यो ।’

संसद विघटन फासीवादी चिन्तको उपज भएको उनको तर्को छ । ‘मुलुक फाँसीवादको दिशातर्फ जाँदै छ । संसद् विघटन प्रधानमन्त्रीको सर्वसत्तावादी, एकाधिकारवादी, निरकुंशतावादी, फासीवादी चिन्तनको उपज हो,’ उनले भने, ‘त्यो चिन्तनलाई विदेशी शक्तिकेन्द्रले क्यास गरे । तानाशाही र फासीवादी चिन्तन फेला पारेपछि साम्राज्यवादीलाई ‘फुटाउ र शासन’ गर्नका निम्ति ढुंगा खोज्दा देउता फेला परेको छ ।’

विदेशी शक्ति केन्द्रको टकवारले नेपाल फौजी प्लेग्राउन्ड बन्न लागेको उनको बुझाई थियो । ‘यहाँको भूराजनीतिक परिवेशमा विदेशी शक्तिकेन्द्रको टकरावले नेपाललाई फौजी प्लेग्राउन्ड बनाउने, विशेषगरी चीनको विरोधमा परिलक्षित गर्ने, चीनलाई घेराबन्दी गर्ने, तिब्बतलाई टुक्रयाउने र त्यसको लागि नेपाललाई शैन्य आधार क्षेत्र बनाउने रणनीतिसँग अन्तरनिहित छ,’ उनले भने ।

नेता गुरुङले अगाडि भने, ‘ऐतिहासिक रुपमा चिनियाँ कम्युनिस्ट पार्टीको परामर्श, सदाशयता आदिको बारेमा प्रश्न उठाउनुको कुनै औचित्य छैन । नेपालको स्वाधिनताको सम्बन्धमा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप समस्याको विषय हो, चीन होइन ।’