आफ्नै पार्टीभित्र फेस गर्न नसक्नेले ठूला कुरा गरेर हुन्छ ? - नेता सिंह - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

आफ्नै पार्टीभित्र फेस गर्न नसक्नेले ठूला कुरा गरेर हुन्छ ? – नेता सिंह



काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई क्रान्तिकारी भन्ने प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधिबाट विश्वासको मत पनि लिन नसकेको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्री ओली बढो क्रान्तिकारी जस्तो देखिएर जनताको म्यान्डेट लिन गइरहेको छु भन्छन्। म जस्तो प्रजातान्त्रिक को छ भन्छन्,’ सिंहले भने, ‘जनप्रतिनिधिबाट विश्वासको मतसमेत लिन सक्ने आँट छैन। अनि दुई तिहाइ मतको प्रधानमन्त्री भनेर मात्रै हुन्छ?’

सोमबार कांग्रेसले काठमाडौं क्षेत्र न‌ं. १ मा आयोजना गरेको विरोध पसभामा बोल्दै उनले पार्टीको आन्तरिक कलह मिलाउन नसकेको रिसले ओलीले प्रतिनिधि सभा भंग गरेको बताए ।

ओलीको कदम असंवैधानिक भएको ठहरसहित उनले भने, ‘नेकपा भित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद भंग गरेर रिस पोखे ।’ उनले अगाडि थपे, ‘पार्टीभित्र फेस गर्न नसक्ने? अनि ठूला कुरा गरेर हुन्छ? जनताको मतको अपमान भएको छ। प्रधानमन्त्री ओलीको कदमविरूद्ध प्रतिरोध गर्छौं।’

विश्वासको मत समेत लिन नसक्ने व्यक्तिले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीजस्तो कुरा गर्न नसुहाउने उनको तर्क थियो । ‘दुई तिहाइ जनताले प्रत्यक्ष निर्वाचित गरी प्रधानमन्त्री बनाएकोजस्तो पो गर्छन्,’ उनले भने, ‘विश्वासको मत लिन सक्ने प्रावधान छ। तर प्रधानमन्त्रीले सहास देखाउन सकेनन्।’

ओली सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै उनले भने, ‘व्यवस्थापिका र न्यायपालिका आफ्नो अधिनमा राख्न ओली सरकार उद्धत छ, प्रधानमन्त्री ओली शक्तिशाली देखिन खोजेर सरकार निकाय आफ्नो मातहतमा ल्याएका छन् ।’