यान्छीसँग महराले भनेका थिए: संसद पुनर्स्थापनाको सम्भावना छ
काठमाडौं- सत्तारुढ नेकपाभित्रको विग्रह र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने कार्यले दक्षिणको छिमेकी “पर्ख र हेर” को स्थितिमा रहेको समाचार आइरहेको छ भने उत्तरतिरको छिमेकी खिन्न भएको देखिन्छ ।
चिनियाँ राजदूत होउ यान्छीले लामो समयदेखि राष्ट्रपति, प्रधानमन्त्रीसँगै नेकपाको शीर्ष तहका नेताहरूसँग गरेको भेटघाट र प्रयास पनि पुस ५ गतेदेखि व्यर्थमा परिणत भएको छ । हिजो बेइजिङ्गबाट आएको टोली रास्ट्रपति र प्रधानमन्त्रीसँग एकसरो हिजै भेटेर आज नेकपा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालसँग अलगअलग भेटघाटको चरणमा छ ।
त्यसअघि चिनियाँ राजदूतले नेकपाका धेरैजसो नेतासँग भेटेर ‘पार्टी फेरि मिल्छ कि मिल्दैन ?’ भनेर जिज्ञासा राखेकी थिइन् ।
त्यहि क्रममा पूर्व सभामुख तथा नेकपा स्थायी समिति सदस्य कृष्णबहादुर महरासँगको भेटमा राजदूतले ‘व्यक्तिगत रूपमा तपाईं पार्टीलाई एकजुट बनाउने कोशिसमा हुनुहुन्छ कि हुनुहुन्न ?’ भनेर सोध्दा महराले ‘अहिलेको यो गरमागर्मीमा पार्टी मिल्ने सम्भावना देख्दिनँ’ भनेर जवाफ फर्काएको भएको स्रोतले दाबी गरेको छ ।
कुराकानीको क्रममा पूर्व सभामुखले ‘शीर्ष तहकासँग होइन, आफूले त्यसबारे दोस्रो तहका नेताहरूसँग छलफलमार्फत् कोशिस गर्ने तर त्यो अहिले होइन तीन चार महिनापछि’ भनेर विषय टुङ्ग्याउँदा राजदूतले संसद पुनर्स्थापना हुन्छ कि हुँदैन ?’ भनेर समेत जिज्ञासा राखेकी थिइन् । उक्त जिज्ञासामा महराको संक्षिप्त जवाफ थियो ‘सम्भावना पूरै छ’ ।
अन्तमा होउले पार्टी विभाजन भएकोमा आफू र चीन सरकार अनि चिनियाँ कम्युनिष्ट पार्टी दुःखित भएको बताउँदै फेरि एकताको चमत्कारिक घटना हेर्न चिनियाँ मित्रहरू कुरिरहेको बताएर फर्किएको जनआस्थाले लेखेको छ ।