अदालतले नगरे जनताको विद्रोहले संसद पुनःस्थापना गर्छ- घनश्याम भुसाल - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

अदालतले नगरे जनताको विद्रोहले संसद पुनःस्थापना गर्छ- घनश्याम भुसाल



बुटवल- नेकपा नेता घनश्याम भुसालले सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन्।

रूपन्देहीको तिलोत्तमामा नेकपा रूपन्देही (प्रचण्ड–नेपाल) समूहले गरेको जिल्ला भेलामा सहभागी हुन आएका भुसालले पत्रकारहरूसँग कुरा गर्दै प्रतिनिधि सभा पुनर्स्थापना नभएमा मुलुक सत्यानासतिर जाने बताए।

पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आइतबार गरेको पत्रकार भेटघाटमा नेता भुसालले विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको बताए ।

‘कार्यकारीले गल्ती गर्दा सच्याउनकै लागि अदालत चाहिने हो, नत्र त अदालत किन आवश्यक पर्थ्यो र ?’ भुसालले प्रश्न गर्दै भने, ‘अदालतले संविधान, जनचाहना र परम्परा हेरेर पुनर्स्थापना गर्छ भन्ने विश्वास छ । यदि अदालतले गरेन भने जनताको आन्दोलन र विद्रोहले संसद पुनर्स्थापना गरेरै छाड्छ ।’

प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधानको उल्लंघन सुरु हुने र मुलुकमा अस्थिरता निम्तिने उनको धारणा छ । संसद विघटन गर्ने निर्णयले नेपाली जनताले ५० वर्षदेखि चाहेको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको उनले बताए ।

नेता भुसाल प्रचण्ड–माधव समूहले रुपन्देहीको तिलोत्तमामा गरेको जिल्ला भेलालाई सम्बोधन गर्न गृह जिल्ला आएका हुन् ।