एमसिसी देशको हितमा छ: ऊर्जामन्त्री रायमाझी - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

एमसिसी देशको हितमा छ: ऊर्जामन्त्री रायमाझी



काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पदबहाली गरेका छन्। पदबहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए।

उनले भने, ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ।’

मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए। उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे।

सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयको काम कारवाहीबारे मन्त्रीलाई जानकारी गराएका थिए। रासस