संसद विघटन: यी हुन् संवैधानिक इजलाशमा सुनुवाइ गर्ने पाँच न्यायाधीश
काठमाडौं- प्रतिनिधि सभा विघटन सम्बन्धि परेको रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास तय भएको छ । जसमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल बेन्चले सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । रिटको प्रकृति नै संवैधानिक इजलासमा जाने प्रकारको भएकाले पठाइएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले सोही दिन सदर गरेकी थिइन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुध्द रिट दायर गर्नेहरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायत छन् । पुस ७ गते नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेपाली राजनीतिमा संवैधानिक इजलासले के गर्ने भन्ने निकै चासोका साथ हेरिएको छ ।