प्रचण्डलाई संसदीय दलको नेता बनाउने यस्तो छ तयारी - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रचण्डलाई संसदीय दलको नेता बनाउने यस्तो छ तयारी



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बुधबार विघटित प्रतिनिधिसभा सदस्यहरू र राष्ट्रियसभा सदस्यहरुको बैठक बोलाएका छन् । उनिहरुलाई दिउंसो १ बजे संघीय संसद्को ल्होत्से भवनमा बोलाइएको छ ।

प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक आयोजना गरेर पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दलको नेता चयन गर्ने कार्यक्रम छ । प्रचण्ड नेपाल समुहले आफ्नो पक्षमा प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदहरूको समर्थन रहेको दावी गर्दै आएको छ । त्यसैगरी उनिहरुले प्रतिनिधीसभा विघटन नभएको दावी गर्दै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी मंगलवारबाट विधिवत रुपमा नै विभाजनको बाटोतर्फ लागेको छ । नेकपाका दुवै पक्षले केन्द्रिय समिति विस्तार गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बालुवाटारमा बैठक बोलाएर १ हजार १९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गर्नुका साथै महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रचण्ड–नेपाल समूहले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बहुमत सदस्यहरूको बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाउने र उक्त ठाउंमा माधव नेपाललाई समान वरीयताको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

ओली पक्षले मंगलबार नै आफ्नो समूहको निर्णयको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ भने प्रचण्ड–नेपाल समूहले आज निर्वाचन आयोगलाई जानकारी दिने तयारी गरेको छ । दुवै पक्षले पार्टीको वैधता र चुनाव चिन्ह प्राप्त गर्न प्रतिष्ठाको विषय बनाएका छन् ।