नेकपा फुटेको छैन, कसैलाई कारवाही भएको छैन: ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवाली
काठमाडौँ – ओली समुहको बैठकले नियुक्त गरेका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएको जानकारी दिएका छन् ।
बालुवाटारमा भएको बैठकबारे जानकारी दिँदै नयाँ प्रवक्ता ज्ञवालीले भने, ‘कम्तिमा हाम्रो तर्फबाट पार्टी विभाजन भएको छैन । कमिटिमा जिम्मेवारी हेरफेर भएको मात्रै हो । प्रतिनिधिसभा मात्रै विघटन भएको हो ।’
उनले अघि भने, ‘यो बैठकले कसैलाई कारवाही गरेको छैन । चुनावमा पार्टी एकतावद्ध भएर जाने छ । एकता चुनावले गराउने छ कि भन्ने आशा प्रधानमन्त्रीले व्यक्त गर्नु भएको छ ।’
अर्को पक्ष (पुष्पकलम दाहाल प्रचण्ड–माधवकुमार नेपाल) को बैठक वैध नभएको उनले बताए । पहिलो अध्यक्ष भएकाले ओली र महासचिवसहितको बैठक नै वैध रहेको उनले बताए ।
संसदमा ओलीले बहुमत नगुमाएको र नेकपा पनि विभाजन नभएको उनले बताए । संसद विघटन संविधान अनुसार नै रहेको पनि उनले दाबी गरे ।