माधव नेपाल अध्यक्ष, प्रचण्ड दलको नेता: वामदेव र बादल कता ?
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा औपचारिक रुपमा विभाजनको संघारमा पुगेको छ ।
असंवैधानिक रुपमा संसद विघटन रोजेपछि सर्वत्र आलोचनाको घेराबन्दीमा परेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड नेपाल समूह एकअर्कालाई कारवाही गर्ने अन्तिम तयारी छन्।
ओली र प्रचण्ड दुवै एकअर्कालाई अनुशासनको कारवाहीमा उत्रिनु भनेको पार्टी फुटको घोषणा हुनु भएको नेताहरुको बुझाइ छ। दुबै पक्षले आजका लागि छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् र दुबैले एकले अर्कोलाई कार्वाही गर्ने तयारीमा छन् ।
प्रधानमन्त्री ओलीले विहान ९ बजे बालुवाटारमा र प्रचण्ड पक्षले दिउँसो १ बजे बबरमहलमा केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
प्रचण्ड–नेपाल पक्षभन्दा पहिले नै केन्द्रीय कमिटी बोलाएर ओलीले आफू कारवाहीमा पर्नु भन्दा पहिले नै प्रचण्ड–नेपाल पक्षलाई कारवाही गर्ने तयारीमा रहेको बुझिएको छ ।
ओलीमाथि पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा संगठित सदस्य नरहने गरी निलम्बन वा निष्कासन गर्नेसम्मको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी छ ।
त्यसैले ओलीले आज बिहान केन्द्रीय कमिटी बैठक बोलाउन लागेको सुइँको पाउनासाथ प्रचण्ड–नेपाल पक्षले ओलीलाई अनुशासन उल्लंघनको कारवाही गर्ने सिफारिस पत्र निर्वाचन आयोगमा बुझाइसकेको छ ।
यसरी ओली र प्रचण्ड–नेपाल पक्षले एकअर्कालाई कारवाही गर्न द्रुत गतिमा गरेको कसरतको नतिजा सम्भवत आज नै आउने देखिन्छ। चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रचण्ड–नेपाल समूह स्पष्ट बहुमतमा छ । प्रचण्डनिकट करिब दुई सय र नेपालनिकट करिब एक सय १० जना केन्द्रीय सदस्य रहेको उनीहरूको दाबी छ ।
तर यो भिडन्तमा दुवै पक्षका महत्वपूर्ण मानिएका एकएक जना केन्द्रीय सचिवालय सदस्यहरु रामबहादुर थापा ‘बादल’ र बामदेव गौतम तटस्थ बसिरहेका छन् । त्यस्तै स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, हरिवोल गजुरेल र मणि थापा पनि अझै अनिर्णित छन् । उनीहरु हिजो दुवैतिरका भेलामा गएका छैनन् ।
आज बस्ने ओली इतरको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई पार्टी अध्यक्ष र प्रचण्डलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।