ओलीविरुद्ध नेकपा असन्तुष्ट पक्ष र ठुला दलले संयुक्त आन्दोलन गर्ने घोषणा - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

ओलीविरुद्ध नेकपा असन्तुष्ट पक्ष र ठुला दलले संयुक्त आन्दोलन गर्ने घोषणा



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद् विघटनको संयुक्तरूपमा प्रतिवाद गर्ने सहमति गरेका छन्।

नेकपाकै पहलमा कांग्रेस संसदीय दलको कार्यालयमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको जसपाका कार्यकारी परिषद््का अध्यक्ष डा. बाबुराम भट्टराईले ट्विट गरेर जानकारी गराएका छन्।

‘जसपा, नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो, प्रम केपी ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक, निरंकुश रहेको ठहर गरियो,’ उनले लेखेका छन्।

संसद् विघटनका विरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको उनले जानकारी दिएका छन्।

बैठकमा यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरिएको भट्टराईले ट्विटमा लेखेका छन्।

बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए।

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र डा. मीनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए।