तयार रहन सुरक्षा फौजलाई निर्देशन: संकटकाल लाग्नसक्ने
काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सुरक्षा परिषदको बैठकमा व्यस्त छन् ।
सुरक्षा परिषदको बैठकमा मुलुकमा संकटकाल लगाउने विषयमा छलफल हुनसक्ने बताइएको छ । सुरक्षा अधिकारीको ब्रिफिङपछि मात्रै यसबारे ठोस निर्णय आउने बुझिएको छ ।
संसद विघटन गरेर चुनाव घोषणा गर्ने कदमविरुद्धको संभावित सडक प्रदर्शन र नागरिक प्रतिरोधलाई ध्यानमा राख्दै राजधानीको सुरक्षा व्यवस्था आइतबार अपरान्हदेखि कडा तुल्याएको छ।
बालुवाटार, शितलनिवास, मन्त्रिनिवास, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वरलगायतका संवेदनशील क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षाकर्मीको गस्ती बाक्लो बनाइएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीलाई पनि सडकमा परिचालन गरिएको छ।
नयाँ राजनीतिक घटनाक्रमबारे जंगीअड्डामा उच्च सैनिक अधिकारीहरूबीच आइतबार छलफल भएको छ। जंगी अड्डाको नीतिगत छलफल र निर्णय गर्ने निकाय (पीएसओज) को बैठकमा यसबारे छलफल भएको हो। (पीएसओज) मा मुख्यालयमा कार्यरत विभागीय प्रमुख सैनिक अधिकृतको सहभागिता रहने गर्छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर सतर्क रहन र आवश्यक परे स्थानीय प्रशासनलाई सहयोग गर्न तयार रहन सबै प्रदेशका पृतना मुख्यालयहरूलाई निर्देशन दिएका छन्।