ओलीमाथि कडा एक्सन लिने प्रचण्ड-नेपाल समूहको घोषणा - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

ओलीमाथि कडा एक्सन लिने प्रचण्ड-नेपाल समूहको घोषणा



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद झनै उग्र बन्दै गैरहेको बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल साहल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले थप सक्रियता बढाएका छन् ।

शुक्रबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिए पार्टीले ओलिमाती कडा एक्सन लिने घोषणा गरेका छन्।

प्रदेश १ अन्तर्गतका १४ जिल्लाका निकटस्थ इन्चार्ज, सहइन्चार्ज, जिल्ला अध्यक्ष र सचिवको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय, स्थायी कमिटीको निर्णय नमान्ने, केन्द्रीय कमिटी बैठक डाक्नै आलटाल गर्ने गरेको जानकारी दिँदै पछिल्लोपटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर पार्टीलाई चुनौती दिएको बताए । ‘उहाँ पार्टीको कुनै पनि निर्णय पालना गर्दिनँ भन्नहुन्छ ।

पछिल्लोपटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि अहिलेसम्म फिर्ता गर्नुभएको छैन, उहाँले पार्टी निर्णयलाई मान्नुभएन भने अबचाहिँ एक्सनमै जानुपर्ने हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी एक जिल्ला पदाधिकारीले भने ।

भेलामा सहभागी उदयपुर जिल्ला कमिटीका सचिव ईश्वरमणि रावतले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीभित्र चर्किंदै गएको अन्तर्संघर्ष, अहिलेसम्म अन्तर्संघर्षका विकसित घटनाक्रम, अन्तर्संघर्षको मूल सवाल पार्टीभित्र हुर्किएको व्यक्तिवाद, विधि र पद्धति, एकता प्रक्रिया टुंगिन नसक्नुका कारणलगायत विषयबारे अवगत गराएको बताए ।

सरकार बनेदेखि नै पार्टीलाई चुनौती दिँदै सरकार सञ्चालन भइरहेको विषयमाथि पनि नेताहरूले प्रस्ट पारेका थिए । त्यस्तै, भेलामा वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई समाजवादको बाटोमा अगाडि बढाउन जालझेल गरेको, संघीयता, लोकतान्त्रिक गणतन्त्र र कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाएका थिए । उनले पार्टीभित्र ओलीकै कारण बुर्जुवा शैलीको विकास हुँदै गएको पनि चर्चा गरेका थिए ।

अर्का वरिष्ठ नेता नेपालले पार्टी एकीकरणदेखि नै नेकपा विधि र पद्धतिसम्मत ढंगले सञ्चालन हुन नसकेको प्रस्ट्याएका थिए । ओलीले सचिवालयकै नेताहरूबीच जालझेल गर्दै दाउपेच गरेर पदको बाँडफाँड गर्दै अन्तर्संघर्षलाई कमजोर पार्न खोजे पनि अब भने बैठकबाटै निर्णायक छिनोफानो हुने बताएका थिए । उनले पार्टीभित्र झाँगिएको विकृति–विसंगतिविरुद्ध लड्नुको अर्थ कमी–कमजोरीलाई सच्याएर अझ बलियो बनाउने उद्देश्य भएकाले पार्टी कुनै हालतमा नफुट्ने बताएका थिए ।

प्रदेश १ का इन्चार्ज भीम आचार्यले पार्टी विधिसम्मत ढंगले सञ्चालन हुन नसक्दा प्रदेशदेखि स्थानीय तहसम्म भद्रगोल र अराजकता झाँगिएकाले अबको अन्तर्संघर्षबाटै सबै समाधान खोज्नुपर्नेमा जोड दिएका थिए । नेताहरूले सरकार बनेपछि केन्द्र र प्रदेशमा भएका सम्पूर्ण राजनीतिक नियुक्ति, मन्त्रिमण्डल पुनर्गठनदेखि पार्टीको निर्देशनमा सरकार सञ्चालन हुने, पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने अवस्था बने मात्र अहिलेको अन्तर्संघर्ष तत्कालका लागि व्यवस्थापन हुन सक्ने बताएका थिए ।