प्रधानमन्त्रीले बोलाएको बैठक देउवाले गरे बहिस्कार, सभामुखलाई खबरै छैन - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

प्रधानमन्त्रीले बोलाएको बैठक देउवाले गरे बहिस्कार, सभामुखलाई खबरै छैन



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बिधबार पार्टीले गरेको सहमतिविपरित ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकका लागि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई निम्तो दिइसकेका छन् । तर देउवा भने बैठकमा सहभागी नहुने बताएका छन् ।

यता सभामुख अग्नी प्रसाद सापकोटालाई प्रधानमन्त्री ओलीले खबर नै गरेका छैनन् ।

मंगलबार बिहान बोलाइएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित भएका थिए । लगत्तै साँझ प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए ।

सरकारले एकलौटी रुपमा ल्याएको उक्त अध्यादेशको चौतर्फी विरोध भएको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यादेश फिर्ता हुनुपर्ने नेताहरुको अडान थियो ।

बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गरेर अगाडि बढ्न सहमत भएका थिए ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्न साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक अगावै संवैधानिक परिषद्को बैठकबाट प्रधानमन्त्रीले केही महत्वपूर्ण निर्णय गर्नसक्ने आँकलन गरिएको छ ।