स्वास्थ्यमन्त्री ढकालमाथि अर्को संकट - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

स्वास्थ्यमन्त्री ढकालमाथि अर्को संकट



काठमाडौं- स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि अर्को संकट आइलागेको छ । स्वास्थ्य सामाग्री खरिद देखि कानुन मिचेको आरोप लागिरहेका ढकाललाई संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि डाकेपछि उनि संकटमा परेका हुन् ।

उनलाई शुक्रबारको बैठकमा छलफलका लागि बोलाइएको समिति सभापति भरत साहले बताएका छन् । लेखा समितिले स्वास्थ्य मन्त्रीलाई छलफलमा ल्याउन लामो समयदेखि प्रयास गरिरहेको थियो तर उनले भने आलटाल गर्दै आइरहेका थिए ।

स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सेवा विभागमा आफू अनुकूलका महानिर्देशन ल्याएर अनियमितता गरेको आरोप लाग्दै आएको छ । उनले आफ्नो स्वार्थपूर्तीका लागि महेन्द्र श्रेष्ठलाई महानिर्देशक बनाएको समेत खुलेको छ ।

मन्त्री ढकालले बिचौलिया कम्पनी ओम्नीसँग वार्ता गर्नका लागि कानुन विपरीत आफ्ना सल्लाहकार खेम कार्कीलाई संयोजक तोकेका थिए। उनैमार्फत तीन घण्टाको समयावधिमा औषधि खरिद भएको थियो।

यो प्रक्रिया गुणस्तरहीन औषधि खरिद भएको, आर्थिक अनियमितता गरिएको र कानुन उल्लंघन गरिएको आरोप लागेको थियो। कानुन उल्लंघन भएको विषय भने प्रमाणित भइसकेको छ। सार्वजनिक लेखा समितिको अनुरोधमा सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययन रिपोर्टमा कानुन विपरीत औषधि खरिदको सम्झौता भएको निष्कर्ष निकालेको छ।