ओलीसँग वान टु वान वार्ता गर्न बालुवाटार पुगे प्रचण्ड
काठमाडौं- नेकपाको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
स्थायी कमिटीको बैठकअघि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसंग वान टु वान वार्ताका लागि बालुवाटार पुगेको बुझिएको छ । स्थायी कमिटी बैठकअघि प्रचण्डले ओलीसँग पछिल्लो अध्यादेश प्रकरणबारे कुरा गर्न खोजेको उनीनिटक एक नेताले जानकारी दिए ।
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्डले त्यो खारेज गर्नुपर्ने माग गरेका थिए । अध्यक्ष ओलीले बुधवारको स्थायी कमिटी बैठक स्थगित गर्न गरेको आग्रह प्रचण्डले अस्वीकार गरेका थिए ।
अध्यादेशपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । यसअघि गत २८ गते बसेको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर बुधवारसम्मका लागि स्थगित भएको थियो ।
नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजे बालुवाटारमै बस्दैछ ।