राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग



काठमाडौँ- नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ ।

राष्ट्रपतिबाट मंगलबार जारी भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यबिधी) सम्बन्धि (पहिलो संशोधन) अध्यादेश संविधानको मर्म र भावना विपरीत भएको भन्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त माग भएको छ ।

संसदलाई बन्धक बनाएर र उपसभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत भएको विज्ञप्तीमा उल्लेख छ ।

अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न समेत आग्रह गर्दै विज्ञप्तीमा भनिएको छ, ‘संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ साथै सम्माननीय राष्ट्रपति ज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ ।’

साथै विज्ञप्तीमा नेपाली कांग्रेसले ओली सरकारको सर्वसत्तावादकाविरुद्ध सडक संघर्ष शुरु गरिसकेकोले आन्दोलन अझै सशक्त हुने बताएका छन् ।