नेकपा बिभाजन हुने पक्का: के भन्छन नेताहरू ?
काठमाडौं- अत्यन्तै संकटबाट गुज्रिरहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा बिभाजन हुने लगभग पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक चलिरहेकै समयमा संवैधानिक परिषद सम्वन्धि अध्यादेश ल्याएपछि नेकपाभित्रै ओलीले पार्टी विभाजनको औपचारिक सुरुवात गरेको आरोप लगाएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार संशोधन गर्न अध्यादेश जारी गरेपछि नेकपा विधिवत विभाजनको बाटोतर्फ अघि बढेको नेताहरूले बताएका हुन् । अहिले पार्टीभित्र ओलीले नै हात छाडेको विश्लेषण नेकपावृत्तमा हुन थालेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै यो प्रधानमन्त्री ओलीको यो कदमबाट सबैभन्दा बढी क्रुद्ध बनेका छन् । उनले असंवैधानिक अध्यादेश तत्काल खारेज गर्न आग्रह गरेका छन् । अन्यथा पार्टी एकतामा गम्भीर संकट पैदा हुने उनले चेतावनी दिएका छन् । तर, ओलीले यही नै चाहेको नेताहरूको विश्लेषण छ ।
प्रचण्डको सचिवालयका तर्फबाट व्यक्त टिप्पणीमा पार्टीको स्थायी कमिटी बैठक चलिरहेको र अन्तर्विरोध चर्किरहेको बेला, सार्वभौम सम्पन्न संसद्लाईसमेत बन्धक बनाइ अध्यादेश ल्याइनु गलत रहेको बताइएको छ ।
“नेपालको संविधानलाई लत्याएर शक्ति र सत्ताको दुरूपयोग गरि ल्याइएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको छ । एकमनावाद वा सर्वसत्तावाद प्रवृतिलाई बढावा दिँदै ल्याइएको यस प्रकारको अध्यादेशमार्फत् मुलुक सञ्चालन गर्न खोज्नु नेपाली जनता र समग्र आन्दोलनमाथि नै अपमान हुने हुँदा यो अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्छ,” सचिवालयमार्फत् प्रचण्डले दृष्टिकोण सार्वजनिक गरेका छन् ।
वरिष्ठ नेता झलनाथ खनालले पनि अध्यादेशप्रति आपत्ति जनाएका छन् । “नेकपा स्थायी कमिटी बैठक जारी रहेको बेला कुनै सूचना नदिइ सरकारले अध्यादेश जारी भयो भन्ने समाचार आयो, यो आपत्तिजनक छ,” उनले भने, “यस्तो खालको क्रियाकलाप गरेर पार्टी र सरकारका सम्बन्धलाई नराम्रो अवस्थामा पु¥याउने काम भयो । म यस प्रकारका क्रियाकलापप्रति आपत्ति प्रकट गर्न चाहन्छु ।”
स्थायी कमिटी सदस्य युवराज ज्ञवाली ओली फुटतर्फ अग्रसर भएको बताउँछन् । ओलीको एकपछि अर्को असंवैधानिक, सर्वसत्तावादी, विग्रहकारी कदम त्यसको साक्षी, सबुत भएको उनको निष्कर्ष छ ।
ओलीमा कम्युनिस्ट सिद्धान्तप्रति गम्भीर विचलन पैदा भएको उनको ठहर छ । र, यसलाई कमिटीले सच्याएर अघि बढ्नुको विकल्प नरहेको उनी बताउँछन् ।
स्थायी कमिटी सदस्य बेदुराम भुसाल ओली एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको प्रतीत भएको बताउँछन् । स्थायी कमिटी बुधबारसम्म स्थगित रहेको, अनेक माध्यमबाट सहमतिको प्रयास भइरहेको अवस्थामा त्यसलाई खण्डित गर्नेगरी अध्यादेश ल्याउनु विग्रह निम्त्याउन खोजेकै भएको उनको भनाइ छ ।
स्थायी कमिटी सदस्य मातृका यादव ओलीले विभाजन नै चाहेको बताउँछन् । दोस्रो केन्द्रीय कमिटी बैठक (माघ १५–१९)मा पार्टी अध्यक्ष प्रचण्ले प्रभावकारी भूमिका निर्वाह गरेपछि त्यसको प्रतिशोध साँध्न त्यतिबेलादेखि नै विभाजनको बल प्रयोग गरिएको उनको भनाइ थियो ।