देउवालाई गगनले भने: बालुवाटार र शितलनिवास धाउन छाडेर जनता निवास जानुस - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

देउवालाई गगनले भने: बालुवाटार र शितलनिवास धाउन छाडेर जनता निवास जानुस



काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले आफ्नै पार्टीका सभापतिलाई बालुवाटार र शितलनिवास धाउन छाडेर जनताको निवासमा जान सुझाव दिएका छन् ।

सोमबार कैलालीमा भएको प्रर्दशनलाई सम्बोधन गर्दै नेता थापाले सभापति शेरबहादुर देउवा अनावस्यक रूपमा शीतलनिवास र बालुवाटार धाउने गरेकोप्रति लक्षित गर्दै जनताको घरमा धाउन आग्रह गरेका थिए ।

सभालाई सम्वोधन गर्दै उनले राष्ट्रपति फाल्ने चेतावनी समेत दिएका छन् । राष्ट्रपति जस्तो संवैधानिक व्यक्तित्वले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि सक्रियता देखाएकोप्रति असन्तुष्टी व्यक्त गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद मिलाउने काम राष्ट्रपतिको नभएको बताएका छन् ।

‘राष्ट्रपति महोदय, आँखा नचक्काइबक्स्योस, हात नलम्काइबक्स्योस,’ उनले भने, ‘राजा त फाल्यौं, राष्ट्रपति पनि फाल्न हामी सक्छौं ।’

उनले भ्रष्टाचारी हेर्न कहीं जानु नपर्ने बताएका छन् । नेता थापाले प्रधानमन्त्रीको वरिपरीकै व्यक्तिहरु भ्रष्टाचारीको संरक्षणमा लागेको बताएका छन् ।

‘भ्रष्टाचारी हेर्न कहीँ जान पर्दैन, बालुवाटार गए पुग्छ,’ उनले भने, ‘अन्त जानै पर्दैन सिंहदरबार गए पुग्छ किनभने प्रधानमन्त्रीको वरिपरीकै व्यक्तिहरु भ्रष्टाचारीको संरक्षणमा लागेका छन् ।’

नेता थापाले कांग्रेसलाई शीतल निवास र बालुवाटार भन्दा पनि जनताको घरमा जान सुझाव दिएका छन् । उनले सभापति देउवातर्फ लक्षित गर्दै जनताका समस्यामा ध्यान दिन आग्रह गरेका हुन् ।

‘अब शीतलनिवास, बालुवाटार वा सिंहदरबार हेर्ने होइन, जनताको घर हेर्ने हो, व्याक टू पिपुल जाने हो अब,’ उनले भने ।

उनले असफल प्रधानमन्त्रीलाई जोगाउन खोज्दा प्रचण्ड र माधव नेपाल नांगै बन्न पुगेको बताएका छन् । उनले जनताको पक्षमा काम गर्न नेताहरुलाई सुझाव दिएका छन् ।

‘नांगै हिड्नुभएका प्रधानमन्त्रीलाई जोगाउँदा प्रचण्ड र माधव नेपाल पनि अर्धनांगो भए,’ थापाले भने, ‘कमरेडहरु अब निकै ढिलो भयो, जनताले निकै अपेक्षा गरेका थिए, निराश भए ।’