झन खराब बन्दै ओली-प्रचण्ड सम्बन्ध
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका महत्वपूर्ण संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषद्को बैठक डाकेका छन्।
तर, सो विषयमा प्रधानमन्त्री ओलीले सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै सल्लाह नगरेको बुझिएको छ ।
प्रचण्डनिकट नेताहरुले ओलीले झनै विवाद निम्त्याउने काम गरेको आरोप लगाएका छन् । एकातिर भदौ २६ मा भएको समहमती लत्याउँदै आएका प्रधानमन्त्री ओलीले भदौ २६ गतेको स्थायी समिति बैठकले गरेको ओली र प्रचण्डबीच जिम्मेवारी बाँडफाँटलाई समेत प्रभावित बनाएका छन् ।
जसअनुसार सरकारले राष्ट्रिय तथा दिर्घकालीन महत्वका निर्णय र महत्वपूर्ण नियुक्ति गर्दा प्रधानमन्त्रीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड तथा आवश्यकताअनुसार पार्टी कमिटीमा सल्लाह परामर्श गरेर त्यस्ता निर्णय लिने भनेको थियो।
तर, त्यसलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा हेरफेर र राजदूत नियुक्ति गर्दा पार्टी तथा नेताहरुसँग कुनै परामर्श नगरेको भनी प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका शीर्ष नेताहरुसँग प्रधानमन्त्रीको विवाद तिक्ततापूर्ण बनेको छ।
मंसिर २८ गते आइतबार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने संवैधानिक परिषद्को बैठकका विषयमा पनि प्रधानमन्त्रीले कार्यकारी अध्यक्ष प्रचण्डसँग कुनै सल्लाह नै नगरेको प्रचण्डनिकट नेताले बताएका छन्।
बिभिन्न संवैधानिक निकायमा रहेका प्रमुख र पदाधिकारी गरी ४५ भन्दा बढि रिक्त पदमा नियुक्तिका सम्बन्धमा छलफल गर्न सो बैठक डाकिएको हो।
तर पार्टीमा छलफल नै नगरी प्रधानमन्त्री ओलीले यस्तो तयारी गरेपछि सुरू भएको विवाद झनै चर्किने सम्भावना छ ।