नौरङ्गियामा भैंसी विकास कार्यक्रम उद्घाटन, कृषक उत्साहित - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

नौरङ्गियामा भैंसी विकास कार्यक्रम उद्घाटन, कृषक उत्साहित



कमल विष्ट, कपिलवस्तु

कपिलवस्तुको विजयनगर गाउँपालिका-५ मा रहेको डालपुर – नौरङ्गियामा भैंसी विकास श्रोत केन्द्रको शुभारम्भ भएको छ । श्रोत केन्द्रको नौरङ्गियामा एक औपचारिक कार्यक्रमकाबीच भूमी ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरिन ।

प्रदेश सरकारको ५० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत र कृषकको ३० प्रतिशत लगानिमा स्थानीय करीव ६० जना कृषकले करीब ७५० उन्नत जातका भैसीपालन उक्त क्षेत्रमा कार्यक्रम शुरुवात भएको हो , कार्यक्रमका लागि प्रदेश सरकारको १ करोड चौवन्न लाख र गाउँपालिका र स्थानीय कृषकको १ करोड चौवन्न लाख गरि ३ करोड भन्दा बढीको लागतमा शुरुवात गरिएको हो । आफ्नो गाउँलाई छनोट गरि प्रदेश सरकारले सहयोग गरेकोमा स्थानीय समेत उत्साहित छन ।

कार्यक्रममा प्रमुख अतिथी भूमी ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले पुर्खौ देखि भैंसी पालन गर्दै आएका महिसपाल समुदाय रहेको क्षेत्रमा भैंसी विकास कार्यक्रमको शुरुवात गर्न पाउँदा खुशी लागेको बताउदै भैंसी पालनलाई परम्परागतबाट ब्यवस्थित र ब्यवसायिक बनाउदै स्थानीय कृषकको जीवनमा परिवर्तन ल्याउदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रको सपना साकार पार्न प्रदेश सरकार किसान सङ्ग सङ्गसङ्गै सहकार्य गर्नेमा जोड दीइन । साथै मन्त्री पौडेलले अब सरकारले कृषकलाई उत्पादनको आधारमा अनुदान प्रदान गर्ने र बिचौलिया हरुलाइ निरुत्साहित गर्ने गरि किसानमुखी अनुदान लागुगर्ने बताइन ।

कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले डालपुर नौरङ्गिया गाउ प्रदेशभरमै सिंचाइ , स्तरीय बाटो, स्वास्थ्य सेवा लगायत सबै सुबिधाबाट पछि परेको ठाउँ भएको क्षेत्र रहेकोले प्रदेश सरकारले विषेश ध्यान दिनुपर्ने बताउदै प्रदेश सरकार, विजयनगर गाउँपालिका र स्थानीय किसानको भैंसी बिकासका लागी ३ करोड लगानिले यश क्षेत्रमा भैसीको नस्ल सुधार, गोठ सुधार र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउदै यस क्षेत्रलाई भारतको गुजरात जस्तै देशकै नमुना भैसिपालन क्षेत्रको रुपमा परिचित हुनेमा विश्वस्त रहेकोले सबै भैसीपालक कृषकलाई यो सपना साकार पार्नतर्फ सबै किसान लाग्न अपिल गरे । त्यस्तै प्रदेश सभा सदस्य बिरेन्द्रकुमार कनौडियाले सरकाले ठुला आयोजनाहरु घोषणा गरेपनी ती आयोजना सप्पन्न हुन ढिलो हुनजाने हुदा ससाना सिंचाइ आयोजनाहरुमा लगानी गरेर कृषि क्षेत्रको उत्थानमा लाग्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष तथा विजयनगर गाउपालिकाका अध्यक्ष गोपालबहादुर थापाले राज्यले गरेको लगानी र विश्वास लाई कायम राख्दै भैसीपालनको नमुना क्षेत्रको रुपमा विकास गर्ने चुनौती रहेको भन्दै त्यसलाई साकार पार्न सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा विशिस्ट अतिथि प्रादेशिक योजना आयोग लुम्बिनी प्रदेश उपाध्यक्ष डा. इश्वर गौतम, प्रादेशिक योजना आयोग सदस्य पुष्पा भुसाल, भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीरमण पौडेल, लुम्बिनी प्रदेश पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुलसिराम भण्डारी, मन्त्रालयका पशुपन्क्षी विकास महाशाखा प्रमुख, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कपिलवस्तुका कार्यालय प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत लगायत वडा अध्यक्ष पार्टी प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम पालिका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता, उपप्रमुख लक्ष्मीकुमारी चौधरीको स्वागत र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो ।