नेकपाको स्थायी समिति बैठक बस्दै, यस्तो छ तयारी
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
सचिवालय बैठकले पार्टीको विवाद समाधान गर्न नसकेपछि आज स्थायी समिति बैठक बस्न लागेको हो । आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बराहीमा बस्दैछ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार आजका लागि तय भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने पार्टी केन्द्रीय सचिवालयले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय सचिवालयमा दुई अध्यक्षद्वारा प्रस्तुत अलगअलग राजनीतिक प्रतिवेदन स्थायी समितिमा बुझाउने र त्यहि बैठकबाट विवादको निरुपण गरिने छ ।
कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मंसिर १३ गते अध्यक्ष केपीशर्मा ओलीले आरो प्रत्यारोपसहितको राजनीतिक दस्तावेज पेश गरेका थिए ।
सचिवालय बैठकमा अध्यक्ष ओलीले दाहालको प्रतिवेदनमाथि छलफल गर्न दिएका थिएनन् । उनले प्रतिवेदन फिर्ता लिनु पर्ने अडान राखेका थिए । तर, दाहालले तल्लो कमिटीसम्म लगेर छलफल गराउने जसको प्रतिवेदन पारित हुन्छ त्यहि कार्यान्व्यन गर्ने अडान लिएका थिए ।
आजको स्थायी कमिटी बैठकअघि शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुट्दै छन् । बैठकको बीचमा पनि सचिवालय बैठक बस्न सक्ने र नेताहरुबीच अनौपचारिक भेटघाट भइरहेन प्रवक्ता श्रेष्ठले बताएका छन् ।