उपेन्द्र यादवले भने: हाम्रो संघर्ष जारी छ - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

उपेन्द्र यादवले भने: हाम्रो संघर्ष जारी छ



जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यको पुनर्संरचना परिमार्जनबिना संघीयता संस्थागत हुन नसक्ने बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले शनिबार जनकपुरमा आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतिक सन्दर्भमा अन्तरक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै यादवले विगतमा राज्य पुनर्संरचना आयोगले प्रस्तुत गरेको १० प्रदेशको अवधारणा अनुरुप राज्य पुनर्संरचनालाई परिमार्जन गरिनुपर्ने बताए ।

“अहिले कायम गरिएको सात प्रदेशमा न पहिचानले स्थान पाएको छ सामथ्र्य छ,” पूर्वउपप्रधानमन्त्री यादवले भने, “संघमा साझेदारी र प्रदेशमा स्वायत्त सरकार हुनुपर्छ ।” यस्तो नभएसम्म संघर्ष जारी राख्ने उल्लेख गर्दै उनले लोकतन्त्र र संघीयता विरोधी तत्वलाई परास्त गर्न एकपटक फेरि सशक्त आन्दोलनको आवश्यकता रहेको जिकिर गरे ।

मुलुकमा बसोबास गर्ने आधाभन्दा बढी जनसंख्याले अपनत्व महसुस गर्न सक्ने संविधान नआए पनि राजतन्त्र र एकल शासन प्रणालीलाई अन्त्यगरी गणतन्त्र र संघीयता प्राप्त भएको चर्चा गर्दै उनले प्राप्त उपलब्धीलाई जोगाउँदै बाँकी मुद्दामा संघर्ष जारी रहेको उल्लेख गरे । अहिलेसम्म जे जति राजनीतिक परिवर्तन भए पनि नेपालको शिक्षा प्रणाली दिनदिनै ध्वस्त हुँदै गएको यादवले टिप्पनी गरे ।

कार्यक्रममा पार्टीका नेता शरतसिंह भण्डारीले सम्पूर्ण परिवर्तन पक्षधरहरु जनता समाजवादी पार्टीको छातामुनि एकताबद्ध भएको उल्लेख गर्दै प्रदेश २ लाई नमूना प्रदेशको रुपमा विकास गर्न कुनै बाधा नरहेको उल्लेख गरे । पार्टीका नेता एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले प्रदान गरेको अधिकार उपयोग गर्न समेत संघीय सरकार बाधक बनिरहेको आरोप लगाए ।

संविधानको अनूसूचीमा एकल र साझा अधिकार प्रष्ट रहेपनि कानुन बनाएर प्रदेश सरकारलाई सहज ढंगले काम गर्न संघ सरकारले अप्ठेरो सिर्जना गरिरहेको उनको दुखेसो थियो । संविधानले सुरक्षित गरेको अधिकार उपभोग गर्न पनि कानुनको सहारा लिन बाध्य रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अहिलेसम्म संघ सरकार विरुद्ध प्रदेश सरकारले आधा दर्जन रिट दर्ता गरिसकेको बताए ।

कार्यक्रममा सहभागी बौद्धिक पेशाकर्मीहरुले प्रदेशको स्थायी राजधानी र नामाकरणदेखि विश्वविद्यालय र मेडिकल कलेजको स्थापना, कृषिमा आधुनिकीकरण र सिँचाइका भरपर्दो व्यवस्थापन लगायत क्षेत्रमा प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकिरहेको टिप्पणी गरेका थिए ।