प्रधानमन्त्रीले भने: मलाई खुइलाउने ? बहुमतको निर्णय मान्दिन - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

प्रधानमन्त्रीले भने: मलाई खुइलाउने ? बहुमतको निर्णय मान्दिन



काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ३ घण्टा बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि सबै प्रस्तावहरू स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ।

बैठकपछि संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । स्थायी कमिटीको बैठक भोलि आइतवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकअघि २ अध्यक्षबीच बालुवाटारमा छुट्टै छलफल भएको थियो । शनिवारको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिए । आजको सचिवालय बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोली आइतबार बस्ने स्थायी समिति बैठकदेखि नै सबै प्रस्तावहरुमाथि छलफल सुरु हुन्छ भने त्यहिबीच आपसी परामर्श र छलफल पनि जारी रहनेछ।

बैठकको सुरुवातदेखि लामो समय भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक राख्ने वा नराख्ने भन्ने विषयमा छलफल भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

आइतबारको स्थायी कमिटि बैठकमा दुबै प्रतिवेदन पेश गरेर छलफल सुरु गरे पनि अनौपचारिक संवादलाई पनि थप निरन्तरता दिनेगरी बैठक राख्ने सहमति भएको बताइएको च । एक सचिवालय सदस्याका अनुसार प्रधानमन्त्री ओलीले स्थायी कमिटि बैठक रोक्न निकै हठ गरेका थिए, ‘सुरुदेखि नै ओली कमरेड स्थायी कमिटि राख्न नहुने अडानमा हुनुहुन्थ्यो, उहाँले बैठक रोक्ने अनेक प्रयास गरे पनि भोलि बैठक बस्ने भन्ने निर्णय भयो ।’

प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘के गर्न स्थायी कमिटी बैकठ चाहियो ? मलाई खुइलाउन ? ममाथि कू गर्नका लागि ? मेराविरुद्धको आरोपपत्र पास गर्नका लागि ? यहीँबाट निकास निकाले हुँदैन ? बहुमतको निर्णय मैले मान्दिँन ।’

सचिवालय बैठकमा सुरुमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले पनि बैठक राख्न नहुँने बताएका थिए । तर, अनौपचारिक संवादलाई पनि निरन्तरता दिने भनेपछि पौडेल र पोखरेल पनि बैठकका लागि तयार भएको बताइएको छ ।