सचिवालय बैठक लम्बियो: के हुँदैछ निर्णायक बैठकमा ?
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक १ बजेदेखि चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा जारी बैठकमा नेताहरूले आफ्ना धारणा राखिरहेको बताइएको छ ।
बैठकअघि नेकपाका अध्यक्षद्वय ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छुट्टै छलफल भएको थियो । लामो समयको संवादहिनता तोड्दै बैठक अगाडी भएको यो छलफललाई नेकपामा सहमतिको बाटो खुलेको रूपमा अर्थ्याइएको छ ।
यसअघि मंसिर १७ गते बसेको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि प्रचण्डले बैठकको नेतृत्व गर्दै तीन निर्णय गरिएको थियो । ओली सहभागी नभएका कारण बैठक औपचारिकतामा प्रवेशै नगरी स्थगित भएको थियो ।
कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयमा प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाउँदै दस्तावेज पेश गरेका थिए । मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डका आरोपको खण्डन र प्रचण्ड लक्षित आरोप लगाउँदै दस्तावेज पेश गरेका थिए ।
आजको बैठकमा यिनै दस्तावेजको बारेमा छलफल भैरहेको बताइएको छ । सचिवालयका सबै नेताहरूले आफ्नो धारणा राखिरहेकाले बैठक लम्बिएको बताइएको छ ।