ओली-प्रचण्ड छलफलमा: बैठक अगाडी नै प्रचण्ड पुगे बालुवाटार - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

ओली-प्रचण्ड छलफलमा: बैठक अगाडी नै प्रचण्ड पुगे बालुवाटार



काठमाडौं- नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिबार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न १ बजे बस्न लागेको सचिवालय बैठकअघि ओली र प्रचण्ड छलफल गर्न लागेका हुन्।

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि तीन दिन स्थगित गरेर आज उनीसहित सहभागी हुनेगरी बैठक राखिएको थियो ।

दुई अध्यक्षलाई भेटघाटको वातावरण बनाउनका लागि दुवै पक्षका दोस्रो तहका नेताहरू सक्रिय भएका छन्। शनिबार बिहान स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली निवास खुमलटार पुगेका थिए।

शुक्रबार प्रचण्डनिकट स्थायी कमिटी सदस्य एवम् उर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्रीनिकट स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच लामो कुराकानी भएको थियो।

शुक्रबार सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डसँग भेट गरेका थिए। बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई छुट्टाछुट्टै भेट गरेका थिए।

दुई अध्यक्षबीच कात्तिक २५ यता ‘वान टु वान’ छलफल भएको थिएन।