राष्ट्रपतिले बोलाउँदा प्रचण्डले भने: म ब्यस्त छु आउँदिन
काठमाडौं- सत्तारूढ दल नेकपाको शनिबार बस्ने सचिवालयको अन्योलता बढिरहेको बेला एउटा खबर बाहिरिएको छ । जुन खबरले नेकपा वृत्तमा हलचल नै ल्याएको छ ।
विभाजनको डिलमा नेकपामा अहिले तलदेखि माथिसम्म एकता जोगाउने र दुई अध्यक्षबीच संवाद गराउने विभिन्न प्रयासहरू भैरहेका छन् । त्यतिमात्रै होइन पार्टीका गुटगत बैठक र क्रियाकलापले पार्टी अलग नै भैसकेको अनुभूति गराउँछ । विवाद समाधानका लागि पार्टीमा मात्र होइन राष्ट्रपति कार्यालयमा समेत विभिन्न योजनाहरू बनेका छन्।
पार्टीको हरेक विवादमा निकै सक्रिय भूमिका खेलिरहेकी रास्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निवासमा बोलाएकि थिइन् । तर प्रचण्ड भने राष्ट्रपति कार्यालय गएनन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संगै राखेर नयाँ सहमतिका लागि प्रस्ताव गर्न राष्ट्रपतिले योजना बनाएको स्रोत बताउँछ ।
तर कार्यकारी अध्यक्ष प्रचण्ड शितल निवास नगएपछि यो प्रयास पनि तुहिएको छ । त्यहि संयोजनका लागि पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल कहिले खुमलटार त कहिले शितलनिवास धाएको बताइन्छ ।
प्रचण्डले भने राष्ट्रपति कार्यालयबाट आफूलाई बोलाइएकोबारे वरिष्ठ नेता माधव नेपालसंग बताएका थिए । नेपालसंगको सल्लाहमा प्रचण्ड शितलनिवास नगएको स्रोतले दाबी गरेको छ ।
बिहीवार नै रास्ट्रपतिलाई भेटेर सबै समस्याको जड प्रधानमन्त्री ओली नै रहेको र उनले सहमति तथा बैठकका निर्णय समेत कार्यान्वयन नगर्दा पार्टी गम्भीर विवादमा फसेको ब्रिफिङ गरेका प्रचण्डले फेरि त्यहाँ जानुको औचित्य नभएको भन्दै व्यस्तता देखाएका थिए ।