सचिवालय बैठक बस्दै, प्रधानमन्त्री ओली सहभागी हुने - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

सचिवालय बैठक बस्दै, प्रधानमन्त्री ओली सहभागी हुने



काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तोकिएकै समयमा हुने भएको छ । शनिबार दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली बैठकमै सहभागी भएर आफ्ना कुरा राख्ने तयारी गरिरहेका छन्। प्रधानमन्त्री ओलीले पछिल्लो समय पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई बैठक बाहिर सहमति गर्ने त्यसो नभए केहि समय बैठक सार्ने प्रयास गरेका थिए । प्रचण्ड-नेपाल समुहले उनको प्रस्ताव नमानेपछि उनी सहभागी हुने भएका हुन् ।

प्रधानमन्त्री ओलीले आफू निकट नेताहरूसंग यसबारे छलफल गरेका थिए । नेताहरूको सुझाव अनुसार बैठकमा सहभागी बनेर आफ्ना भनाई राख्ने निचोडमा पुगेको ओलीनिकट एक नेताले बताए ।

पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले ओलीलाई बैठकमा सहभागी हुन सुझाव दिएका थिए । उनीहरूले बैठकमै नजानेहो भने आफ्नै गल्ति हुने समेत सुझाव दिएको स्रोत बताउँछ ।

उता पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आज तय गरिएको सचिवालय बैठक तोकिएको समयमै हुने र प्रधानमन्त्री पनि सहभागी हुने बताइसकेका छन् ।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित नभएपछि बैठक आज शनिबारका लागि तय भएको थियो। पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो।

यसअघि प्रधानमन्त्रीको सचिवालयले आजको बैठकमा प्रधानमन्त्री उपस्थित हुने नहुनेबार निश्चित नभएको जनाएको थियो। बुधबारको सचिवालय बैठकले १८ गतेका लागि तोकिएको स्थायी कमिटी बैठक पनि २१ गते १ बजेदेखि प्रारम्भ हुने निर्णय गरेको थियो।