गर्जिए रामचन्द्र- 'ओली देशका लागि होइन ज्यान मुद्दामा जेल बसेका हुन्' - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

गर्जिए रामचन्द्र- ‘ओली देशका लागि होइन ज्यान मुद्दामा जेल बसेका हुन्’



काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीदेमाठी गम्भीर आरोप लगाएका छन् । उनले ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन् ।

बिहीबार ब्यास नगरपालिकाको बुल्दीखोलामा पुल उद्घाटन गर्दै उनले केपी ओली १४ वर्ष ज्यान मुद्दामा जेल बसेको बताएका थिए । उनले भने, ‘केपी ओली १४ वर्ष ज्यान मुद्दामा जेल बसेको हो, लोकतन्त्रका लागि होइन ।’

जोशमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरुले आफूसँग लोकतन्त्रको गफ गर्न नसक्ने समेत उनले बताए । उनले भने, ‘ज्यान मुद्दामा जेल बसेकाले हामीसंग लोकतन्त्रका गफ नलगाए हुन्छ ।’

कार्यक्रममा नेता पौडेलले ०६२–६३ सालको जनआन्दोलनमा बयलगाढा चढेर अमेरिका पुगिन्न, संघीयता लोकतन्त्रमा पुगिन्न भन्ने व्यक्ति ओली नै भएको भन्दै आक्रोश समेत पोखेका थिए ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्रले ओलीलाई राष्ट्रवादी बनाइएको भन्दै विदेशी गुप्तचरसँगको भेटले उनको राष्ट्रवाद उदाँगिएको पौडेलले बताए । उनले तनहुँको घटनाले प्रजातन्त्रवादीहरु देशैभर जागेको पनि बताए । उनले अब भ्रष्टाचारविरुद्ध पनि आन्दोलन केन्द्रित हुने बताए ।

“ठूला–ठूला घोटाला गर्नेहरु, अर्बौँको काण्डका रचयिताहरुलाई संरक्षण दिन, साना भुरा माछा खाँदै हिँड्ने त्यो अख्तियारलाई पनि ठेगान लगाउने आन्दोलन हुन्छ,” नेता पौडेलले भने, “अबको आन्दोलन अख्तियारको घाँटी समाउने मात्र होइन न्यायीक निकायलाई पनि सावधान गर्ने आन्दोलन हुन्छ । अब यहाँ सत्ता हेरेर फैसला गर्ने ? अब हुन सक्दैन ।”