पौडेल पक्राउपछि ओली-देउवाबीच भएको त्यो तिक्ततापूर्ण फोनवार्ता
काठमाडौं- तनहुँमा पुल उद्घाटनका क्रममा प्रहरीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएपछि राजनीतिमा छुट्टै छल आएको छ । पक्राउ परेको ३ घन्टामा रिहा भएका नेता पौडेलले सरकारको यो कदम एकदमै निन्दनीय बताएका थिए ।
उनलाई प्रहरीले पक्राउ गरेपश्चातका केहि घटनाहरू राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने खालका छन् । कांग्रेसका धेरै नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको चर्को आलोचना भएको छ ।
त्यतिमात्र होइन शिर्ष नेतालाई पक्राउ गरेकोमा कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली बीच तिक्ततापूर्ण फोनवार्ता भएको जनैएको छ ।
सभापति देउवाले फोन गरेर सरकारको पारा के हो भनेर सिधै प्रश्न गरेपछि ओलीले स्पष्टिकरण दिएका थिए । स्रोतका अनुसार फोनवार्तामा देउवाले अब उप्रान्त सरकारलाई सहयोग गर्न नसकिने र यसको मूल्य चुकाउनुपर्ने बताएका थिए ।
जवाफमा ओलीले नेता पौडेलकै सुरक्षाका लागि नियन्त्रणमा लिइएको बताएका थिए । देउवा र ओलीको उक्त तिक्ततापूर्ण कुराकानीपछि नेता पौडेलसहित कांग्रेसको तनहुँ कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले रिहा गरेको हो।
बुधबार दिउँसो तनहुँको व्यास नगरपालिकाका दुईवटा वडा जोड्ने पुल उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको थियो।
घटनाको विरोध गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरी नेता पौडेललाई तत्काल रिहा गर्न माग गरेका थिए।
त्यसपछि बुधबार साँझ पौडेलसहितका नेतालाई प्रहरीले छाडेको कांग्रेसले जनाएको छ।
पुल उ्घाटनका विषयमा प्रतिपक्षी कांग्रेस र सत्तारुढ नेकपा कार्यकर्ताबीच झगडा परेपछि प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। त्यो तोडेको भनेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।