अध्यादेश, संसद विघटन र संकटकालको त्रास देखाएर ओलीले धम्की नदिउन: माधव नेपाल - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

अध्यादेश, संसद विघटन र संकटकालको त्रास देखाएर ओलीले धम्की नदिउन: माधव नेपाल



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेश र संसद विघटन गर्ने धम्की नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

बुधबार फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा बोल्दै वरिष्ठ नेता नेपालले कसैले तर्साएर कोही पनि नतर्सिने भन्दै प्रधानमन्त्रीलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, ‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु, संसद विघटन गरिदिन्छु, इमर्जेन्सी लगाइदिन्छु, अध्यादेश ल्याइदिन्छु भनेर ओलीले तर्साएर कोही तर्सिनेवाला छैन ।’

नेता नेपालले सधैँभर बैठक लब्म्याउँदा पार्टी र सरकार दुवै बदनाम भैरहेको र अहिलेको अवस्था कायम रहे पार्टी समाप्त हुने बताए।

‘आज पनि बैठक बसेका थियो। पार्टी अध्यक्ष कमरेड व्यस्त हुनु भएकाले केही समय दिउँ भन्ने कुरा भयो। तर यो अनन्तकालसम्म लम्ब्याउने काम गर्नु हुदैन,’ नेता नेपालले भने, ‘सधैभरी लम्ब्याउँदै जादा पार्टी जनतामा बदनाम भैरहेको छ, सरकार अलोकप्रिय भैरहेको छ, पार्टी नामको चिज कागजमा सिमित छ। यो मृतप्रायः अवस्थामा पुगेको छ।’

उनले पार्टीमा मानिस संगठित नै हुन छाडेको, पार्टी कमिटी क्रियाशील नै हुन नसकेको बताए। ‘यस्तो अवस्था भयो भने हेर्दाहेर्दै पार्टी सकिन्छ,’ उनले चिन्ता व्यक्त गरे।

बिहीबार दिउँसो भएको नेकपा सचिवालय बैठकमा अन्य काममा व्यस्त रहेको भन्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि शनिबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।

बैठकले प्रधानमन्त्री ओलीसँग सम्बन्धित विषयमै छलफल गर्नुपर्ने भएकाले शनिबार हुने बैठकमा अनिवार्य उपस्थितिकालागि आग्रह गरेको छ।

नेकपाभित्र विवाद चर्किदै जाँदा प्रधानमन्त्री ओली पार्टीका कमिटीहरुमा अल्पमतमा परेका छन्। त्यही कारण उनले बैठकहरु छल्न खोजेको आरोप पार्टीभित्र उनीसँग असन्तुष्ट रहेका नेताहरुले लगाउने गरेका छन्।

कार्यक्रममा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको नाम नलिई आलोचना गरेका थिए। ‘आइ एम द स्टेट जस्तो आइ एम द पार्टी भन्ने विचारको कारण अहिले समस्या आएको हो,’ नेपालले भने।
उनले महाधिवेशन अगावै अध्यक्ष ओलीलाई दुवै पदबाट हटाउनुपर्ने बताएका छन् । बरिष्ठ नेता नेपालले गत चैतदेखि नै यस्तो अभियान चलाएको जानकारी दिएका छन् ।

‘कसैको पनि अधिनायकवाद र मनपरीतन्त्र चल्दैन । यो दुईवटा अध्यक्षबीचको एकता होइन । यो समग्र पार्टीपंक्तीको एकता हो’, उनले भने ।