काँग्रेस नेता रामचन्द्र पौडेल पक्राउ - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

काँग्रेस नेता रामचन्द्र पौडेल पक्राउ



काठमाडौं- नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु,’ पौडेलले लेखेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस!’

तनहुँमा पुल उद्घाटनमा काग्रेस र युवासंघ विवाद भएपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणमा लिएको हो। व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो। नेपाली कांग्रेसले जसरी पनि पुल उद्घाटन गर्ने र युवा संघले जसरी पनि रोक्ने भनी विवाद सृजना भएपछि जिल्ला प्रशासनले सम्भावित झडपलाई रोक्न निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पूर्वाधार कार्यालयले पनि तत्कालका लागि पुल उद्घाटन कार्यक्रम रोकिदिन अनुरोध गरेपछि सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए।

एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनको सूचनामा उल्लेख छ।

व्यास-१ र १० को पृथ्वी राजमार्गमा चल्ने सवारी साधनबाहेक गल्बुबेसी, बुल्दीखोला पुल, रानीगाउँ, घाँसीकुवा, मुसेखोला अंम्रेनीलगायत ४ किल्ला क्षेत्रभित्र ५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन रोक लगाइएको छ।