प्रचण्डलाई अनुशासनको कारबाही गर्न ओलीको प्रस्ताव - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

प्रचण्डलाई अनुशासनको कारबाही गर्न ओलीको प्रस्ताव



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनुशासनको कारबाही गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पार्टीको लेटरहेड दुरुपयोग गरेको आरोप लगाएएका ओलीले प्रचण्डले कुण्ठा र आरोपमात्रै लेखेर पार्टी कमिटीमा ल्याएको र तल्लो कमिटीहरूमा पठाएको बिषय उठाएर प्रचण्डमाथि अनुशासनको कारबाही गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

सचिवालयमा विचाराधीन रहेको विषयलाई तल्ला कमिटीमा लैजाने नाममा प्रचण्डले पार्टीको छाप, लेटरप्याड दुरुपयोग गरेकाले कारबाहीको भागिदार हुनुपर्ने धारणा राखेको स्रोतको भनाइ छ ।

“केन्द्रीय कार्यालयमा नाम र लोगो प्रयोग गरेर जुन पुस्तिका छाप्नुभएको छ । यो पार्टीको विधान, पद्धति र अनुशासनविपरीतको काम हो,” ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, “कसको निर्णय, कसको अनुमतिले छाप्नुभयो । यो तपाईंको निजी पार्टी त होइन । पार्टीको निर्णयबेगर पार्टी कार्यालयका तर्फबाट भनेर पार्टीको लोगो प्रयोग गरेर कसरी छाप्न सक्नुभयो ? तपाईंलाई किन कारबाही नगर्ने ?”

नेकपा सचिवालयका एक सदस्यका अनुसार मंगलबारको बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई निराधार आरोप लगाउने तथा त्यसलाई पार्टीको दस्ताबेज भनेर प्रचार गर्ने अध्यक्ष प्रचण्डमाथि अनुशासनको कारबाही किन नगर्ने भनेर ओलीले सोधेका थिए। उनले प्रचण्डको प्रस्तावमाथि छलफल हुनै नसक्ने अडान राखेका थिए।

‘निराधार आरोप र लाञ्छनाले भरिएको पत्रमाथि छलफल हुन सक्दैन, त्यो पत्रमा ममाथि गम्भीर आरोप छन्, त्यसलाई मैले खारेज गरेको छु। यस्तो प्रस्ताव पार्टी कमिटीमा छलफल हुन सक्दैन, यसलाई एजेन्डा बनाउन सकिँदैन,’ सचिवालयका एक नेताका अनुसार ओलीको भनाइ थियो।