गणतन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखाउँ -डा. भट्टराई
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्रको गोबर नखान सुझाव दिएका छन् । उनले युवाहरुलाई गणतन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखान सुझाव दिएका हुन् ।
राजा र राजसंस्थाको समर्थनमा देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भएपछि बाबुरामले युवाहरुलाई यस्तो आग्रह गरेका हुन् । उनले आधा गिलास उपलब्धिलाई जोगाएर बाँकि गिलास भर्ने कि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली गर्ने भन्दै राजसंस्थाको समर्थन गर्ने युवाहरुलाई प्रश्नसमेत गरेका छन् ।
बाबुरामले अगाडिको स्यालसँग लड्दा पछाडि लुकेको ब्वाँसो नर्बिसर्नसमेत सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय बाबुरामले शनिबार बिहानै ट्वीट गर्दै यस्तो लेखेका हुन् । उनले स्याल र ब्वाँसो दुवैसँग लडेर अघि जाने साहस गर्न सुझाएका छन् ।
‘युवासंग आग्रह–गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ ! अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौं ! नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् । अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं । दुबैसॅग लडेर अघिजाने साहस गरौं’, बाबुरामले ट्वीटरमा लेखेका छन् ।
![](https://himalpost.com/wp-content/uploads/2020/11/baburam-tw.png)