रुकुममा जन्ती बोकेको जीप दुर्घटना: चार जनाको ज्यान गयो - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

रुकुममा जन्ती बोकेको जीप दुर्घटना: चार जनाको ज्यान गयो



रुकुम पश्चिम- रुकुम पश्चिममा मध्यरातमा जन्ती बोकेको जीप दुर्घटना भएको छ । जिल्लाको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको बताइएको छ ।

शुक्रबार राति आठबीसकोट नगरपालिका वडा नं. ८ बाट १०/१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा.१ ज ५८९ नम्बरको जीप दाजे भन्ने स्थानमा दुर्घटना भएको हो । प्रहरीका अनुसार जीप सडकबाट झन्डै १०० मिटर तल खसेको छ ।

दुर्घटनामा परी आठबीसकोट नगरपालिका-८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि आठबीसकोट नगर अस्पताल लगिएको छ ।

जीप चालक वडा नं ९ का डिल्लीबहादुर नेपाली भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर