बास्कोटाको प्रश्न: नेकपाको झगडामा बाबुरामको रहस्यमय प्रवेश किन ? - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

बास्कोटाको प्रश्न: नेकपाको झगडामा बाबुरामको रहस्यमय प्रवेश किन ?



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेकपाकाे आन्तरिक ‘शक्ति संघर्ष’मा जनता समाजवादी पार्टीका डा.बाबुराम भट्टराई रहस्यमय तरिकाले प्रवेश गरेको पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले आरोप लगाएका छन्।

नेकपाका केन्द्रीय सदस्य बास्कोटाले मंगलबार सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री भट्टराईलाई ‘भूतपूर्व कमरेड’को संज्ञा दिँदै उनले नेकपाको विवादमा सक्रिय भूमिका निर्वाह गरेको टिप्पणी गरेका हुन्।

यस क्रममा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिने बास्कोटाले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि व्यंग्य गरेका छन्।

‘नेकपाकाे आन्तरिक शक्ति संघर्षमा भूतपुर्व कमरेड डा. बाबुरामको रहस्यमय तर सक्रिय र खुला प्रवेशले धोबीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन म पनि खुसी छु,’ पूर्वमन्त्री बास्कोटाले ट्विटरमा लेखेका छन्, ‘अब पोल्टो र भुइँ बचाउने संघर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाइराछ, हेरौं के हुन्छ?’

पूर्वमाओवादीसमेत रहेका डा. भट्टराईले सोमबार मात्र प्रधानमन्त्री ओलीको आलोचना गर्दै स्टाटस लेखेका थिए।