ट्रम्पले भने: बाइडेनले जितेपनि हाम्रो लडाइँ जारी छ - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

ट्रम्पले भने: बाइडेनले जितेपनि हाम्रो लडाइँ जारी छ



एजेन्सी- अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा अस्वीकार गरिरहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जित स्वीकार गरेका छन्।

ट्रम्पले ट्विट गर्दै ‘लडाइँ’ (चुनावमा धाँधली भयो भन्ने विषयमा अदालती प्रक्रिया) जारी रहेको र जित आफ्नै हुने जिकिर गरे पनि राष्ट्रको ‘सर्वोत्तम’ हितका लागि बाइडेनको टोलीले अन्तरिम कालको प्रशासन औपचारिक रूपमा सञ्चालन गर्न सक्ने घोषणा गरेका हुन्।

यही नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेट पार्टीका उम्मेदवार बाइडेनले बहुमत ल्याउँदै विजयी भइसकेका छन्। तर ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै पुनः मत गणना तथा छानबिनका लागि अदालतमा मुद्दा हालेका छन्। कतिपय राज्यमा पुनः मत गणना गर्दा पनि बाइडेन नै विजयी भएका छन् भने कतिपय राज्यका न्यायाधीशले ट्रम्पले धाँधलीको आरोप लगाउँदै दिएको उजुरी खारेज गरेका छन्।

यहीबीच ट्रम्पले लडाइँ जारी रहेको उल्लेख गर्दै बाइडेनलाई अन्तरिक कालको प्रशासन सञ्चालनका लागि भने बाटो खुला गरेका हुन्।

नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनले सरकारी सूचना तथा कोषमा पहुँच नदिए पनि यस अघिदेखि नै अन्तरिमक कालको काम सुरु गरिसकेका छन्।

बाइडेनले आगामी जनवरी २० तारिख राष्ट्रपतिको पद सम्हाल्ने छन्। त्यसअघिकाे अवधिमा उनको अन्तरिम प्रशासनले सरकारको काम थाल्न ठाउँ र कोष पाउनुपर्छ। तर ट्रम्पले आफ्नो हार अस्वीकार गर्दैै असहयोग गरिरहेका थिए।

बाइडेनले औपचारिक रूपमा सत्ता नसम्हाल्दासम्मका लागि प्रशासनिक काममा पहुँच प्रदान गर्ने मुख्य जिम्मेवारी जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) को हो। जसका प्रमुख एमिली मर्फी हुन्। उनको टोलीलाई बाइडेनको अन्तरिम प्रशासन सञ्चालनमा आवश्यक सहयोग गर्न ट्रम्पले निर्देशन दिएका हुन्।

मर्फीले नवनिर्वाचित राष्ट्रपति बाइडेनको अन्तरिम प्रशासनका लागि ६३ लाख डलर रकम विनियोजन गरेको जानकारी दिएकी छन्।