विप्लव समूह र राजावादीमाथि कडा निगरानी गर्न गृहमन्त्री बादलको निर्देशन
काठमाडौं- विप्लव समूह र राजावादीहरुको गतिविधिमाथि कडा निगरानी राख्न गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । उनको निर्देशन पश्चात निगरानी कडा पारिएको जनाइएको छ ।
पछिल्लो समय अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै प्रतिबन्धित समूहको चलखेल बढेको र ताजावादीहरू समेत ठुलो आन्दोलन गर्ने तयारीमा रहेको निष्कर्ष निकाल्दै सुरक्षा निकायले ती समूहको गतिविधिमाथि निगरानी राख्न शुरु गरेको स्रोतको दाबी छ ।
गृहमन्त्री थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर उनीहरुले गर्न सक्ने अराजक गतिविधिको बारेमा निगरानी र नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चरम गुटबन्दीका कारण पार्टी विभाजनको तहमा पुगेको र दलप्रति जनताको धारणा नकारात्मक बन्दै गएका कारण पूर्वराजावादीहरुले राजधानीलगायत देशभर मंसिर १५ गतेबाट मौन जुलुस निकाल्ने घोषणा गरेपछि सरकार सशंकित भएको छ ।
पूर्वमाओवादीबाट विभाजन भएर भूमिगत भएको विप्लव समूहले समेत आफ्नो गतिविधिलाई अहिले नै तीव्रता दिएपछि गृहमन्त्री थापाले त्यस्ता समूहको गतिविधिमाथि निगरानी राख्न र उनीहरुले उद्देश्यलाई निस्तेज पार्न पनि सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको गृह मन्त्रालयका स्रोतले जनाएको छ ।
गोप्यरुपमा पटकपटक बसेको बैठकले कार्ययोजनासमेत बनाएर अगाडि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको स्रोतले दाबी गरेका छ ।
तराईका जिल्लाहरुमा यसअघि नै ‘राजा आऊ देश बचाऊ’ भन्ने नारासहित जुलुस प्रदर्शन भइसकेको र मंसिर १५ गतेबाट संगठितरुपमा नै पूर्वराजावादीले आन्दोलन गर्ने घोषणा गरेपछि सरकार थप सशंकित भएर त्यस्ता क्रियाकलाप नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ ।
सरकारले देशभर विप्लवको पछिल्लो गतिविधि र राजावादीहरुको गतिविधिका बारेमा समेत अवस्थाको मूल्यांकन गरी गृह मन्त्रालयलाई जानकारी गराउनसमेत गृहमन्त्री थापाले निर्देशन दिएका छन् ।
पछिल्लो समय विप्लव समूहले सैन्य दस्तासमेत तयार पारेको सूचना पाएको सरकारले उनीहरुको अराजक गतिविधि रोक्न आग्रह गरेको एक अधिकारीले जानकारी दिए ।
अहिले संगठितरुपमा विप्लव समूहले चन्दा संकलन कार्यलाई समेत तीव्रता दिएकाले उक्त गतिविधि रोक्न मन्त्री थापाले सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
सरकारको निर्देशनपछि सुरक्षा निकायले ७७ जिल्लामा रहेका आफ्ना युनिटमार्फत विप्लव र राजावादीहरुको गतिविधिका बारेमा जानकारी गराउन निर्देशन दिएको छ । अहिले जिल्लाका विभिन्न ठाउँमा रहेका सुरक्षा निकायका युनिटहरुले सूचना संकलन गर्ने कामलाई तीव्रता दिएका छन् ।