घेराबन्दीमा प्रधानमन्त्री ओली: बाबुरामले पनि उठाए प्रधानमन्त्री फर्ने मुद्दा
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद र त्यसबाट उत्पन्न छालले अन्य पार्टीमा पनि चासोको बिषय बनेको छ । खासगरी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सचिवालयका बहुमत सदस्यले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सार्वजनिक चासोको बिषय नै बनेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको चरित्रमाथि नै प्रश्न उठाएर सरकार संचालनमा असफल भएको देखाइएको प्रतिवेदनले प्रधानमन्त्री ओली अब सार्वजनिक पदमा बस्न मिल्दैन भन्ने आवाज बुलन्द बन्दै गरिअहेको छ । तर प्रधानमन्त्री ओली र उनीपक्षीय नेताहरूले यसलाई स्वीकारेका भने छैनन् । उनीहरूले यसलाई राजनीतिक प्रतिवेदन भन्न नमिल्ने भन्दै आरोपपत्रको नाम दिएका छन् ।
सामाजिक संजालमा नेकपा नेतृत्व र सरकारको बिषयमा व्यापक टिप्पणी भैरहेकै बेला जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनैपर्ने बताएका छन् ।
डा.भट्टराईले सत्तारुढ दल नेकपाको झगडा कसरी टुँग्याउने भन्ने उसको कुरा भएपनि राज्य र जनताको मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने बताउंदै राष्ट्रपतिको अस्वाभाविक हस्तक्षेप र चिनिया राजदूतको अस्वाभाविक भेटको पनि प्रसङ्ग उठाएका छन्।
प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट विभिन्न आरोप लगाएपछि घेराबन्दीमा पर्न थालेका छन्। केहि समय अघि नेकपाकै स्थायी कमिटिभित्र बहुमत सदस्यले विभिन्न आरोप लगाउंदै राजिनामा मागेका थिए ।
विभिन्न घटनाक्रमले जोगिएको उनको पद अहिले भने धरापमा देखिएको छ । जनता समाजवादी पार्टीसंगै नेपाली कांग्रेसले पनि उनीमाथि लागेका विभिन्न आरोपको जवाफ दिनुपर्ने बताउँदै अविस्वासको प्रस्ताव ल्याउने संकेत गरेको छ । बुधबार मात्रै कांगेस सांसद गगन थापाले लामो लेख लेख्दै त्यसको संकेत गरेका छन् ।
डा.भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,-“नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन; २.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।”