ईश्वर र शंकर नै किन उभिए प्रधानमन्त्री ओलीको विपक्षमा ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

ईश्वर र शंकर नै किन उभिए प्रधानमन्त्री ओलीको विपक्षमा ?



काठमाडौं- नेकपा विवाद उग्र बनिरहेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधवार बसेको सचिवालय बैठकमा आफूमाथि लागेका आरोपको जवाफ दिन छुट्टै प्रतिवेदन ल्याउन १० दिनको समय मागे । प्रधानमन्त्रीलाई उक्त समय दिने निर्णय बैठकले गरेपछि केहिदिनका लागि नेकपामा युद्धविराम भएको आंकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पेस भएको राजनीतिक प्रस्तावमा आफूमाथि लाञ्छनायुक्त र आरोपले भरिएको पत्र भएको उनले बताएका थिए। जवाफ दिन प्रतिवेदन पेस गर्ने उद्देश्यसहित ओलीले समयको माग गरेको र छुट्टै प्रतिवेदन ल्याउने तयारी गरिरहंदा उनी निकट केही नेताहरूले भने उनको तयारीको उल्टो अभिव्यक्ति दिन थालेका छन् ।

नेकपाका ओली निकट नेताहरू ईश्वर पोखरेल र शङ्कर पोखरेलले नै प्रचण्डको प्रतिवेदनको खण्डन गर्न वा जवाफ दिनुनपर्ने अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका नेता ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफूमाथि लगाइएका ‘तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्‍याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू’लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले, सचिवालयको बैठकमा। त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ, उहाँले। यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन सहज र सम्भव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ।’ ‘यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं!’

यस्तै अध्यक्ष ओलीका अत्यन्तै निकट मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका नेता शंकर पोखरेलले पनि यस्तै आशय दिने अभिव्यक्ति दिएका छन् । उनले लेखेका छन्, ‘पार्टी एकताको भावना विपरीत आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई बैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ। पार्टी एकताले पूर्णता नपाउँदै समानान्तर दस्ताबेज बाटो एकतातर्फको बाटो अवश्य होइन। १० दिनको समयलाई एउटै दस्ताबेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरू गम्भीर बन्नुहोस्। अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ।’

प्रचण्डले नेकपाभित्रका सबै समस्याको कारण केपी शर्मा ओली भएको आरोप लगाउंदै १९ पेज लामो प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए। त्यसैको जवाफमा प्रधानमन्त्री ओलीले जवाफ दिन १० दिनको समय माग्गेका हुन् । तर ओलीपक्षीय नेताहरूले नै त्यसको जवाफ दिन उपयुक्त नभएको बताउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।