नयाँ रणनीति बनाउन मध्यरातमा ओली शितलनिवास पुगे - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

नयाँ रणनीति बनाउन मध्यरातमा ओली शितलनिवास पुगे



काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको मुखमा पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छिन् । उनले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई पालैपालो शीतल निवास बोलाएर छलफल गरेकी हुन् ।

मंगलबार पौने आठ बजेसम्म शीतल निवासमा प्रचण्डसँग दुई घण्टा लामो छलफल गरेकी भण्डारीले सो क्रममा प्रचण्डलाई मिलेर अघि बढ्न सुझाएकी थिइन् ।

त्यसपछि ओली पनि शीतल निवास पुगेका थिए । बालुवाटारमा चिनियाँ राजदूतसँगको पूर्वनिर्धारित छलफल सकेर ओली राति ९ बजेतिर शीतल निवास पुगेर राति अबेरसम्म छलफलमा बसेको उच्च स्रोतले बताएको छ ।

मगंलबार साँझ करिव दुई घण्टा प्रचण्डले राष्ट्रपति भण्डारीलाई भेटेर फर्केको केहीबेरमै ओली शितलनिवास पुगेको खबरले नेकपामा तरङ्ग नै ल्याएको छ । ओलीले शितल निवास जानु पूर्व चिनियाँ राजदूत होउ यान्छीसँग बालुवाटारमै लामो छलफल गरेका थिए ।

राष्ट्रपतिले ओलीलाई समर्थन गर्न गरेको आग्रह अस्वीकार गर्दै प्रचण्ड खुमलटारतर्फ लागेको केहीबेरमा ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गरेका हुन्। प्रचण्डले ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन वा संसद विघटन गर्ने प्रयास गरेमा त्यसलाई रोक्न राष्ट्रपतिसमक्ष आग्रह गरेको बुझिएको छ।

त्यसलगत्तै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग लामो छलफल गरेर ओली शितल निवास हानिएका थिए । शितलनिवासमा प्रचण्डविरुद्धको अबको रणनीतिबारे छलफल भएको बुझिएको छ।

ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, एकाधिकारवादी भएको जस्ता आरोपसहित गत शुक्रबार प्रचण्डले पेश गरेको १९ पृष्ठ लामो प्रस्तावमाथि भोली दिउँसो १ बजे निर्धारित केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने प्रचण्ड पक्षको अडान छ।