प्रचण्डलाई राज्यद्रोहको मुद्दा हाल्ने बास्कोटाको धम्की
काठमाडौं- नेकपाको विवादले उग्र रुप लिन थालेको छ । विवादले ध्रुवीकरण भएका दुई समूह एक अर्को सहुहप्रती गालीगलौजको स्थितिमा उत्रिन थालेपछि विवादले अर्कै मोड लिने खतरा बढेको छ ।
एक समूहले अर्को समूहमाथि आक्रामक टिप्पणी गरिरहेकै बेला नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले भने पार्टीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राज्यद्रोहको मुद्दा लगाउने चेतावनी दिएका छन् ।
बाँस्कोटाले कार्यकारी अध्यक्ष प्रचण्डलाई राज्यद्रोहको मुद्दा लगाउन सकिने एक रेडियोलाई अन्तवार्तामा बताएपछि सामाजिक संजालमा यस बिषयले छुट्टै बहसको सुरुवात भएको छ । बाँस्कोटाले प्रचण्डसहित पूर्व माओवादीका नेताहरुलाई भारतमा बसेर नेपालमा युद्द गरेको अभियोगमा राज्यद्रोहको मुद्दा लगाउन सकिने चेतावनी दिएका हुन् ।
उनले प्रधानमन्त्री ओलीको आलोचना गरेकोमा प्रचण्डलाई यस्तो धम्की दिएका हुन् । बास्कोटाले ओली सरकार काण्डै काण्डमा मुछिएको भन्ने आरोपको पनि कडा प्रतिवाद गरेका छन् । ‘के हो काण्डै काण्ड भनेको ?’ उनको आक्रोश थियो–‘त्यसो भए त हामीलाई पनि त्यस्ता धेरै काण्ड थाहा छ नि ।’
पूर्व सञ्चारमन्त्री समेत रहेका र सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद सम्बन्धी ७० करोड प्रकरणमा मुछिएपछि राजीनामा दिएका बाँस्कोटा अध्यक्ष प्रचण्डप्रति सुरुदेखि नै आक्रोशित थिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली माथि लगाईएका आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । ‘ओलीमाथिका आरोप पुष्टि गर्न सक्नुहुन्छ भने शुभकामना छ’–उनले भने ‘एकै ठाउँमा बस्ने हो भने पुष्टि नहुने वाहियात आरोप बन्द गरौं होईन भने बाटौ लागौं र सकेजति आरोप पनि लगाउँदै जाऊँ ।’
कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको भन्दै आलोचना गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीनिकट नेकपा नेताहरु प्रचण्डको विरुद्द खुलेआम बोल्न थालेका हुन् ।
प्रचण्डविरुद्ध बोल्नेमा मुख्यमन्त्रीद्वय गण्डकीका पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोख्रेल पनि छन् । त्यसैगरी केन्द्रिय सदस्य बास्कोटा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा, महेश बस्नेत पनि प्रचण्डविरुद्ध बोल्न थालेका छन् ।
प्रचण्डका विरुद्ध ओलीनिकट नेताहरु आक्रोशित भएसँगै प्रचण्ड र माधव नेपाल निकट केन्द्रीय सदस्यहरुले त्यसको काउण्टरमा सामाजिक सञ्जालमा प्रतिकृया दिएका छन् ।