सचिवालय बैठक बहिस्कार गर्ने ओली पक्षको तयारी
काठमाडौं- नेकपाको बुधबार बस्ने सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनीपक्षीय नेताहरूले बहिस्कार गर्ने तयारी गरेका छन् ।
लामो समयको गलफत्तीपछि डाकिएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रतिवेदन नै पेश गरेपछि संकटमा परेको ओलीले समुहले बैठक बहिस्कार गर्ने तयारी गरेको स्रोतको दाबी छ ।
ओली पक्षले बैठकलाई महत्व नदिएको र प्रधानमन्त्री स्वयं पनि बैठक कसरी छल्ने भन्नेमा मात्रै केन्द्रित रहेको प्रचण्ड-नेपाल पक्षको भनाई छ । पार्टीभित्र उत्पन्न संकट समाधान गर्न पार्टी कमिटीको बैठक आवश्यक हुने भएपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्ष बैठक नबस्ने रणनितीमा रहेको उनीहरूले बताउने गरेका छन् ।
अध्यक्ष प्रचण्डले केही दिनअघि पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठकमा समेत ओली पक्ष अनुपस्थित रहेको थियो । सो बैठकमा वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै सहभागी थिए । धुम्बाराही बैठकलाई ओली पक्षले ‘प्रचण्ड–नेपालको गुटको भेला’ भन्दै अपमान गरेपछि प्रचण्डसमेत पाँचैजना नेता बालुवाटार पुगेर ४८ घण्टाभित्र पार्टी बैठक बोलाउन लिखित अनुरोध गरेका थिए ।
प्रचण्ड–नेपाल पक्षको लिखित प्रस्तावलाई तोक लगाउँदै ओलीले महासचिव विष्णु पौडेललाई बैठक बोलाउन भनेका थिए । सोही आधारमा गत शनिबार ४० मिनेट बैठक बसेर नेताहरु निस्केका थिए । शनिवारको बैठकपछि ओलीले अबको बैठकमा आफुमाथि थप संकट आउन सक्ने भन्दै बैठक छल्ने उपायको खोजी गरिरहेको प्रचण्ड पक्षको दाबी छ ।
तर, शनिबारको ४० मिनेट आफुमाथि प्रहार भएको भन्दै प्रधानमन्त्री ओलीले नेता माधव नेपाल र उपाध्यक्ष गौतमलाई छुट्टाछुट्टै भेट गरी कार्यकारी अध्यक्ष प्रचण्डको साथ छाडेर आफुलाई सघाउन आग्रह गरेका थिए । ओलीको आग्रहलाई नेपाल र गौतम दुवैले अस्वीकार गरिसकेका छन् ।
प्रधानमन्त्रीले उपप्रधानसहित रोजेको मन्त्रालय लिएर संसदीय दलमा आफुलाई सघाउन गरेको आग्रहलाई गौतमले पार्टी कमिटीमा निर्णय नभएको कुरामा आफुले साथ दिन नसक्ने जवाफ फर्काएका थिए ।
प्रधानमन्त्री ओलीले पार्टी कमिटीमा अल्पमत भएपनि संघिय संसदमा बहुमत जुटाउने प्रयास जारी राखेका छन् । नेकपा संसदीय दलमा ओली पक्षको बहुमतको लागि कम्तीमा ८ सांसद चाहिन्छ । जसको लागि बामदेवको साथ पाए लगभग पुग्ने ओलीको अनुमान छ ।