शंकर पोखरेलले भने: प्रचण्डको कारण पार्टी एकता गम्भीर संकटमा - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

शंकर पोखरेलले भने: प्रचण्डको कारण पार्टी एकता गम्भीर संकटमा



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी गम्भीर संकटमा परेको बताएका छन् । पोखरेलले अध्यक्ष प्रचण्डका कारण पार्टी संकटमा परेको बताएका हुन् ।

प्रचण्डले अर्का अध्यक्ष ओलीविरुद्ध सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता लिन पोखरेलले आग्रह गरेका छन्।

लुम्बीन प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित ओलीविरुद्ध संगीन आरोपसहित प्रचण्डले प्रस्तुत गरेको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका हुन्।

‘सचिवालय बैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ।’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध गर्दछु।’

हिजो बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले एकल राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टीमा अहिले देखिएको समस्याको प्रमुख जिम्मेबार ओली नै भएको आरोप लगाएका छन्। उनले पार्टीमा कार्यविभाजन गर्नेदेखि लिएर राजकीय जिम्मेवारी प्रदान गर्ने कार्यमा संकिर्ण गुटबन्दीको अभ्यास गरेको आरोप प्रचण्डको छ। नेकपा सचिवालय बैठक मंसिर ३ गते बस्नेछ।