ट्रम्पलाई लाग्यो अर्को धक्का
वासिङटन- भर्खरै चुनाव हारेर रन्थनिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को धक्का लागेको छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् ।
अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का पर्यवेक्षकहरुले यस्तो बताएका हुन् ।यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए ।
उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका थिए । कोभिड–१९ का कारण अन्य राज्यमा भने अनुगमन गर्न नसकिएको ओएसले जनाएको छ । ओएएसका अनुसार चुनावको दिन शान्तिपूर्ण थियो भने हुलाकबाट प्राप्त मतपत्रहरु निकै सुरक्षित र व्यवस्थित थियो ।
पर्यवेक्षणका क्रममा चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा उजूरी दिन सक्ने पनि ओएएसले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै विभिन्न राज्यका अदालतमा मुद्दा दायर गर्नुका साथै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैनन् ।